
काठमाडौं । सुनसरीको दुहबी घर भएका एक दम्पती क्यानडाबाट नेपाल आएको भोलिपल्ट मृत फेला परेका छन् ।
काठमाडौं महानगरपालिका–९ सिनामंगलस्थित जन्मभूमि होटलको बरण्डाको रेलिङमा कपडाको पासो लगाएर झुण्डिएको अवस्थामा ३४ वर्षीय रमेश माझी र उनकी पत्नी २९ वर्षीया शर्मीला माझी आइतबार बिहान मृत फेला परेको प्रहरीले जनाएको छ । काठमाडौं प्रहरीका प्रवक्ता एसपी नवराज अधिकारीले पति र पत्नीलाई झुन्डिएको अवस्थामा मृत फेला पारिएको जानकारी दिए ।
माझी दम्पती शनिबार मात्रै क्यानडाबाट नेपाल फर्किएको प्रहरीले जनाएको छ । उनीहरु २ वर्षअघि क्यानडा गरएका थिए । सन् २०२२ मा क्यानडा गएका उनीहरू २ वर्षपछि काठमाडौं फर्केको पाइएको एसपी अधिकारीले बताए । घटनास्थलबाट बरामद भएको पासपोर्टका आधारमा पनि उनीहरु क्यानडाबाट फर्किएको पत्ता लागेको हो ।
‘काठमाडौं फर्किएर जन्मभूमि होटलमा बास बसेको पाइयो । त्यसकै बरण्डाको रेलिङमा सेतो रङको कपडाको सलले घाँटीमा पासो लगाएर झुण्डिएको अवस्थामा दुवै जनाको शव फेला पारिएको छ,’ एसपी अधिकारीले भने, ‘उनीहरुले आत्महत्या गरेको प्रारम्भिक अनुमान छ । थप कुरा अनुसन्धानपछि पत्ता लाग्छ ।’ उक्त होटल रहेको घर पर्शुराम आचार्यको हो । खोटाङका रामजी कटुवालले भाडामा लिएर होटल चलाइएको पाइएको प्रहरीले जनाएको छ ।
शनिबार साँझ होटलमा पुगेका उनीहरु चौथो तलाको १२० नम्बर कोठा ‘बुक’ गरेर बसेका थिए । होटलको कोठा रमेशको नाममा ‘बुक’ गरेको पाइएको छ । घटनास्थलको अनुसन्धानका लागि प्रहरी र त्रिवि शिक्षण अस्पतालको फरेन्सिक विज्ञसहितको टोली पुगेको थियो । मृतकका आफन्त घटनास्थल पुगिसकेका छन् ।

























