
काठमाडौं । मृत्युपछि अंगदान गर्ने दाताका परिवारलाई थप १ लाख रूपैयाँ उपलब्ध गराइने भएको छ । यसअघि १ लाख रूपैयाँ मात्रै पाउँदै आएका थिए ।
अंगदान गर्नेका परिवारले अबदेखि सरकारबाट २ लाख रूपैयाँ पाउने भएका हुन् । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले अंगदान गर्ने दाताका परिवारलाई थप १ लाखसहित गरेर २ लाख रूपैयाँ उपलब्ध गराउने निर्णय गरेका हुन् ।
अंगदान गर्नेका परिवारलाई सरकराले भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत रकम उपलब्ध गराउँदै आएको छ । मन्त्री पौडेलले स्वास्थ्य मन्त्रालयको आन्तरिक स्रोतबाट आवश्यक रकम व्यवस्थापन गर्ने गरी निर्णय गरेका हुन् ।
अंग दानमा सघाउने अस्पताललाई दिने रकम पनि थप भएको छ । यसअघि ५० हजार रूपैयाँ दिने गरिएको थियो । अब २५ हजार थप गरेर ७५ हजार रूपैयाँ उपलब्ध गराइने भएको छ ।
मन्त्री पौडेलले आफ्नो मृत्यपुपछि अरुको जीवन बचाउन चाहनेलाई प्रोत्साहन गर्न खोजिएको र एउटाको जीवनपछि अरुको जीवन बचाउने कार्यलाई व्यापक बनाइने जानकारी दिए । मन्त्री पौडेलले आफ्नो मृत्युपछि अंगदान गर्ने घोषणा यसअघि नै गरिसकेका छन् ।

























