
विराटनगर । कोशी राजमार्गअन्तर्गत मोरङको बूढीगंगा गाउँपालिका–१ मा दुर्घटनामा परेर घाइते भएका भारतीय नागरिकको उपचारका क्रममा बुधबार मृत्यु भएको छ ।
दुर्घटनामा परेर घाइते भएका भारतको बिहान घर भइ मोरङको आरती स्ट्रिप्स नामक उद्योगमा कार्यरत ४५ वर्षीय दीपक शर्माको मृत्यु भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०४५ प ४७७४ नम्बरको मोटरसाइकलले सोमबार साँझ ठक्कर दिँदा पैदल हिँडिरहेका उनी गम्भीर घाइते भएका थिए ।
उनलाई उपचारका लागि बूढीगंगाकै विराट शिक्षण अस्पतालमा भर्ना गरिएको थियो । उपचारका क्रममा बुधबार बिहान १० बजेतिर मृत्यु भएको प्रहरीले जनाएको छ । शवलाई पोस्टमार्टमका लागि कोशी अस्पतालमा राखिएको छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























