
सुनसरी । कोशी राजमार्गअन्तर्गत सुनसरीको इटहरी उपहानगरपालिका–१३ कालीमन्दिरमा बिहीबार साँझ मोटरसाइकल र स्कुटर ठोक्किएर दुर्घटना हुँदा १ जनाको मृत्यु भएको छ । ३ जना घाइते भएका छन् ।
उत्तरबाट दक्षिणतर्फ आउँदै गरेको प्रदेश १–०२–०५६ प ७५५६ नम्बरको मोटरसाइकल र सडक पार गर्दै गरेको मे ४ प ८९१ नम्बरको स्कुटर एकआपसमा ठोक्किएर साँझ ५ः३० बजेतिर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा स्कुटर चालक इटहरी–१३ का ५४ वर्षीय गोपाल रिजालको मृत्यु भएको हो ।
गम्भीर घाइते भएका उनको उपचारका क्रममा विराट शिक्षण अस्पतालमा ६ बजेतिर मृत्यु भएको जानकारी प्रहरीले दिएको छ । दुर्घटनामा स्कुटरको पछाडि सवार इटहरी–१३ की ३३ वर्षीया वविता रिजाल, मोटरसाइकल चालक सुनसरीको कोशी गाउँपालिका–८ का २६ वर्षीय आशिष खान र मोटरसाइकलको पछाडि सवार इटहरी–१४ की २१ वर्षीया विनिता पाठक घाइते भएका छन् ।
घाइतेमध्ये खानको अवस्था गम्भीर छ । रिजाल र पाठकको अवस्था सामान्य रहेको प्रहरीले जनाएको छ । मोटरसाइकलको तीव्र गतिका कारण दुर्घटना भएको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।

























