
काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमणको तालिका परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ ।
सार्वजनिक तालिका अनुसार ८७ जनाको टोलीसहित प्रधानमन्त्री ओली मंसिर १७ गते बेइजिङ प्रस्थान गर्नेछन् ।
मंसिर ० गतेसम्म (डिसेम्बर २–५ तारिक) चीनको औपचारिक भ्रमणका क्रममा विशिष्ट व्यक्तीसँग भेटवार्ता गर्नेछन् ।
१७ गते बेइजिङ प्रस्थान गर्ने ओलीले १८ गते राष्ट्रपति सी जिनपिङ र प्रधानमन्त्री ली छ्याङसँग द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम छ ।
चिनियाँ जनकांग्रेसका स्थायी समिति अध्यक्ष चाओ लेजीसँग पनि भेटघाट गर्ने कार्यसूची छ ।
भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले पेकिङ विश्वविद्यालयमा मन्तव्यसमेत दिने छन् ।
नेपाल–चीन व्यापार मञ्चलाई पनि सम्बोधन गर्ने कार्यक्रम छ । यो मञ्च नेपालस्थित चिनियाँ दूतावास, चीनको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन परिषद र नेपाल उद्योग वाणिज्य महासंघको सहआयोजनामा आयोजना हुनेछ ।
प्रधानमन्त्री ओली नेतृत्वको भ्रमण टोली मंसिर २० अर्थात् डिसेम्बर ५ मा नेपाल फर्कने छ ।

























