
काठमाडौँ । आज मार्ग शीर्ष कृष्ण चतुर्दशी तिथि अर्थात बालाचतुर्दशी । बालाचतुर्दशीमा हिन्दु धर्मावलम्बीहरूले आफ्ना दिवङ्गत पितृको सम्झना गर्दै पवित्र तीर्थस्थल विशेषगरी शिवको मन्दिरमा बत्ती बालेर शतबीज छर्ने परम्परा छ ।
बालाचतुर्दशीको अवसरमा आज पशुपति क्षेत्रका १४ स्थानमा शतबीज छरिँदैछ ।
पशुपतिनाथको मूल मन्दिर, वाग्मती, भष्मेश्वर महादेव, आर्यघाट, रुद्रगाडेश्वर, भागलभुगल महादेव, किरातेश्वर, गौरीघाट, गुह्येश्वरी, नमोबुद्ध, बहिरो गणेश, विश्वरूप, मृगस्थली हुँदै भागलभुगल महादेव नजिकै पुगेर शतबीज छर्ने काम समापन गरिने पशुपति क्षेत्र विकास कोषले सार्वजनिक गरेको शतबीजारोपण मार्गमा उल्लेख छ ।
रातभर बत्ती बालेर बसेका भक्तजनले मार्गशीर्ष कृष्ण चतुर्दशीका दिन बिहान भने दिवंगत पितृको सद्गतिको कामना गर्दै शतबीज गर्छन् ।
पशुपतिनाथ मन्दिरलगायत देशभरका शिव मन्दिरमा भक्तजनको भीड लागेको छ । बालाचतुर्दशीको अघिल्लो रात शुक्रबार दिवंगत पितृका नाममा दीप दान गर्न लाखौँ भक्तजन आएर रातभर जाग्राम बसेका थिए ।
आफ्नो परिवारभित्रका दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै पशुपति क्षेत्रमा शतबीज छर्ने गरिन्छ ।
नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका पूर्व अध्यक्ष एवं धर्मशास्त्रविद् प्राडा रामचन्द्र गौतम शतबीज भन्नाले हेमाद्री नामक धर्मग्रन्थमा उल्लेख गरिए अनुसार धानका सय गेडा चढाउनुपर्ने बताउँछन् । माता, पिता दिवंगत भई एक वर्ष पूरा नभएकाले भने शास्त्रीय रूपमा दीप दान एवं शतबीज रोपण गर्नुहुने धर्मशास्त्रविद् गौतमले सुनाए ।

























