
विराटनगर । स्थानीय तह उपनिर्वाचनमा मतदाताकाे उत्साहपूर्ण सहभागिता देखिएकाे छ । कोशी प्रदेशको ८ स्थानमा भएकाे उपनिर्वाचनमा मतदाताकाे उत्साहपूर्ण सहभागिता देखिएकाे हाे ।
मोरङको ग्रामथान गाउँपालिकाको अध्यक्ष , वडा अध्यक्षका लागि ताप्लेजुङको सिरिजंघा गाउँपालिका ३, झापाको कनकाई नगरपालिका ६, तेहृथुमको लालीगुराँस नगरपालिका ८, सुनसरीको गढी गाउँपालिका ६, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५, उदयपुरको त्रियुगा नगरपालिका १२, बेलका नगरपालिका ९ मा आज मतदान भएको थियो ।
उपनिर्वाचनमा ग्रामथान गाउँपालिकामा १८ हजार ५७७ अर्थात ७१.३ प्रतिशत, ताप्लेजुङकाे सिरिजंघा– ३ मा ८९१ अर्थात ५८.३१ प्रतिशत, झापाकाे कनकाइ नगरपालिका ६ मा १ हजार ५१३ अर्थात ७३.५१ प्रतिशत मत खसेकाे छ ।
त्यस्तै तेह्रथुमकाे लालिगुरास – ८ मा ९२३ अर्थात ६२.३२ प्रतिशत, सुनसरीकाे गढी गाउँपालिका ६ मा २ हजार ६४५ अर्थात ७३.२ प्रतिशत, ओखलढुङ्गाको मोलुङ गाउँपालिका ५ मा ७६८ अर्थात ५७.९६ प्रतिशत, उदयपुरकाे त्रियुगा नगरपालिका १२ मा २ हजार ७२७ अर्थात ६५.६८ प्रतिशत र उदयपुरकै बेलका नगरपालिका ९ मा १ हजार ८८५ मत अर्थात ६० प्रतिशत मत खसेकाे प्रदेश निर्वाचन कार्यालय विराटनगरका प्रमुख चाेलाराज दंगालले जानकारी दिए ।
कोशी प्रदेशमा एक गाउँपालिका अध्यक्ष र ७ वडाध्यक्ष पदका आज मतदान भएको थियो । पालिका अध्यक्षका लागि १६ जना र सात वडाको अध्यक्षका लागि ५५ जना प्रतिष्पर्धामा छन् ।
उपनिर्वाचन भएकाे पालिकामा ४३ हजार ११ जना मतदाता थिए ।
प्रदेशकाे उपनिर्वाचन भएकाे ८ वटै क्षेत्रमा मतपेटिका संकलन जारी छ । मतपेटिका संकलनपछि आजबाटै मतगणना सुरु हुने उनले बताए ।

























