
चितवन । पूर्वगृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेका समर्थक र प्रहरीबीच चितवनमा झडप भएको छ ।
लामिछानेलाई रिहाइ गर्नुपर्ने माग गर्दै रास्वपा कार्यकर्ताले प्रदर्शन गरेका थिए । त्यस क्रममा झडप हुँदा केही प्रदर्शनकारी र प्रहरी घाइते भएका छन् । यद्यपि, घाइतेहरुको विवरण प्राप्त हुन बाँकी छ ।
चितवनको चौविसकोटीबाट प्रदर्शन गर्दै अघि बढेको प्रदर्शनकारी जिल्ला प्रहरी कार्यालय अघि पुगेपछि प्रहरीले रोक्न खोजेको थियो। प्रदर्शनकारीलाई रोक्न प्रहरीले पानीको फोहरा र अश्रुग्यास प्रहार गरेको छ।
चितवनमा साहारा सहकारीको रकम अपचलन गरेको आरोपमा बयानका लागि रविलाई चितवन लगेसँगै उनका समर्थकहरुले निरन्तर प्रदर्शन गरिरहेका छन्। उनीहरुले चितवनबाटै रविलाई रिहाइ गर्नुपर्ने माग गरेका छन्।
पोखराको सूर्यदर्शन सहकारी ठगी प्रकरणमा काठमाडौंबाट कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर लामिछानेलाई पोखरा लगिएको थियो । यसअघि बयानका लागि बुटवल र काठमाडौं लगियो । अहिले चितवनमा बयान लिने काम भइरहेको छ । सबै ठाउँमा उनी सहकारी ठगी प्रकरणमा जोडिएका छन् ।

























