
काठमाडौं । पश्चिमी न्यून चापीय प्रणालीको प्रभावका कारण देशभरको मौसममा आंशिक तथा साधारण बदली आएको छ ।
मौसम पूर्वानुमान महाशाखाका अनुसार पश्चिमी न्यून चापीय प्रणालीको असरका कारण नेपालका धेरै स्थानमा थप बदली हुने पूर्वानुमान गरिएको छ । आज (शनिबार) सुदूरपश्चिम प्रदेश र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भेगका धेरै स्थानहरूमा तथा कोशी, बागमती र गण्डकी प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका थोरै स्थानमा हल्कादेखि मध्यम हिमपात हुने सम्भावना छ।
साथै, सुदूरपश्चिम प्रदेश, कर्णाली प्रदेश र लुम्बिनी प्रदेशका केही स्थानहरुमा हल्कादेखि मध्यम वर्षा, गण्डकी प्रदेशका थोरै स्थानहरु तथा बागमती प्रदेश र कोशी प्रदेशका पहाडी भेगका एक–दुई स्थानमा हल्का वर्षा हुनसक्ने पूर्वानुमान गरिएको छ । मौसम प्रणालीको असरले तापक्रममा समेत केही गिरावट आएर चिसो बढ्न सक्ने सम्भावना रहेको छ।
मौसम पूर्वानुमान महाशाखाले चिसो बढ्ने क्रममा रहेका कारण सचेत रहन सबैमा आग्रह गरेको छ । वर्षा, हिमपात तथा चिसोका कारण दैनिक जनजीवन, स्वास्थ्य, पर्वतारोहण, हवाई यातायातलगायत दैनिक जनजीवनमा असर पर्नसक्ने महाशाखाले जनाएको छ ।

























