
काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई काठमाडौँ जिल्ला अदालतले ४० हजार धरौटीमा छाड्न आदेश दिएको छ ।
साइबर अपराधको कसूरमा पक्राउ परेका प्रसाईंलाई बिहीबार काठमाडौँ जिल्ला अदालतका न्यायाधीश विष्णुप्रसाद अवस्थीको इजलासले ४० हजार रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको हो । तर, उनी छुट्न पाएनन् ।
प्रसाईंमाथि आपराधिक विश्वासघातको कसूरमा केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले पनि अनुसन्धन गरिरहेका कारण तत्काल नछुटेका हुन् ।
प्रसाईं प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका थिए । भारतीय गुन्डा नाइके लरेन्स विश्नोईको नाम लिएर नेपाली व्यवसायीलाई धम्क्याएको आरोपमा झापाको मेचीनगर–१३ का हरिचन्द्र फुँयाल पक्राउ परेपछि प्रसाईं पनि सोही घटनामा मुछिएका थिए । फुँयालसँगै प्रसाईंमाथि पनि अनुसन्धान सुरु भएको थियो ।

























