
विराटनगर । पूर्वप्रधानमन्त्री तथा नेपाली कांग्रेसका संस्थापक स्वर्गीय कृष्णप्रसाद भट्टराईले आफ्नो जीवन सादगी र दृढ नेताको रुपमा बिताए । विवाह नगरेका उनले निजी सम्पति जोडेनन् । लामो समय डेरामा बसेका उनी जीवनको उत्तरार्ध आश्रममा बसे । सन्तनेताको छबी बनाएर उनको २०६७ फागुन २० गते निधन भयो ।
भट्टराईले नेपाली समाजमा सादगी र निष्ठावान नेताको पहिचान बनाएका छन् । सादगी नेताको मृत्युपछि विराटनगरमा आलिसान भवन निर्माण भइरहेको छ । सन्तनेताको सम्झनामा विराटनरगको कञ्चनबारीमा ६ तल्ले आलिशान भवन निर्माण भइरहेको हो ।
सन्तनेता कृष्णप्रसाद भट्टराई फाउन्डेशनले भवन निर्माण गरिरहेको फाउन्डेशनका अध्यक्ष कांग्रेस नेता रमेशजंग रायमाझीले जानकारी दिए ।
भट्टराईको योगदान बारे नयाँ पुस्तालाई जानकारी दिनका लागि भवन निर्माण गरिएको उनले बताए । यो भवन २०८२ को फागुनमा उद्घाटन गर्ने योजना छ । करिब १ बिघा क्षेत्रफलमा निर्माण भइरहेको प्रतिष्ठानको सम्पूर्ण काम सकिदा १५ करोड हाराहारी खर्च हुने उनले बताए । ‘अहिले लगभग ७ करोडजति खर्च भयो, ६ तलाको छत ढलाइ भइसक्यो’ उनले भने ।
उनका अनुसार सुरुमा टेक्निकल कलेज सञ्चालन गर्ने योजना थियो । तर विद्यार्थी नहुने भएका कारण प्रतिष्ठान निर्माण गरिएको उनले बताए । ‘ टेक्निकल कलेज खोलेर वार्षिक ६०० सय विद्यार्थी पढाउने योजना थियो, तर विद्यार्थी नपाउने भएका कारण स्मृति प्रतिष्ठान बनाइरहेका छौं,’ उनले भने ।

























