
विराटनगर । आज शुक्रबार साँझदेखि नेपालको पश्चिमी भूभागबाट पानी पार्ने प्रणाली भित्रने जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाले जानकारी दिएको छ ।
पश्चिमी न्यूनचापीय प्रणालीको कारण शुक्रबारको साँझबाट नेपालको धेरै स्थानहरूमा आंशिकदेखि साधारणतया बदलीको सम्भावना छ ।
न्यूनचापीय प्रणालीको प्रभावका कारण शुक्रबार अपराह्नदेखि शनिबारसम्म सुदूरपश्चिम र कर्णाली प्रदेशका उच्च पहाडी तथा हिमाली भू–भागका अधिकांश स्थानहरूमा तथा गण्डकी, बागमती र कोशीका उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा र हिमपात हुने सम्भावना छ ।
सुदूरपश्चिम र कर्णाली प्रदेशका धेरै स्थानहरू र लुम्बिनी प्रदेशका केही स्थानहरूमा हल्कादेखि मध्यम वर्षा तथा गण्डकी, बागमती, मधेस र कोशी प्रदेशका थोरै स्थानहरूमा हल्का वर्षाको सम्भावना रहेको महाशाखाको भनाइ छ।
मौसम प्रणालीको असरका कारण चिसो बढ्ने छ ।
मौसमविद् विनोद पोखरेलले शनिबार देशका अधिकांश भूभावमा हल्का वर्षाको सम्भावना रहेको बताए ।
मौसम पूर्वानुमान महाशाखाले वर्षा, हिमपात तथा चिसोका कारण हवाई÷यातायात लगायत दैनिक जनजीवनमा समेत असर पर्न सक्ने देखिएकोले सतर्कता अपनाउन आग्रह गरेको छ ।

























