
विराटनगर । मोरङको उर्लाबारीमा शुक्रबार साँझ ‘स्टार्ट’ गर्ने क्रममा स्कुटर दुर्घटना भएको छ । स्कुटर ‘स्टार्ट’ गर्न खोज्दा दुर्घटना भएर चालकको मृत्यु भएको छ ।
उर्लाबारी नगरपालिका–५ सार्वजनिक शौचालयअगाडि प्रदेश १–०२–०४५ प २४६० नम्बरको स्कुटर साँझ ५ः४५ बजेतिर ‘स्टार्ट’ गर्ने क्रममा आफैं अनियन्त्रित भएर भित्तामा ठोक्किएको प्रहरीले जनाएको छ । दुर्घटनामा स्कुटर चालक उर्लाबारी–५ झुम्राहाका अन्दाजी ४५ वर्षीय नरेन्द्र गुरुङको मृत्यु भएको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।
गम्भीर घाइते भएका गुरुङलाई उपचारका लागि विराटनगरको न्युरो अस्पताल ल्याइएको थियो । अस्पताल पुर्याउनसाथ चिकित्सकले मृत घोषित गरेको प्रहरीले जनाएको छ । घटनाको थप अनुसन्धान सुरु भएको डीएसपी जोशीले बताए ।

























