फाइल फोटो ।विराटनगर । काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट यात्रु लिएर झापाको भद्रपुरका लागि उडेको बुद्ध एयरको जहाज दुर्घटना हुनबाट जोगिएको छ ।
उडानका क्रममा प्राविधिक समस्या आएपछि जहाजलाई काठमाडौं नै ‘डाइभर्ट’ गरिएको छ । ९५३ उडान नम्बर भएको जहाजको इन्जिनमा समस्या देखिएको बुद्ध एयरले जनाएको छ ।
सोमबार बिहान १०ः३८ बजे उडेको जहाजले आधा उडान गरिसकेको थियो । इन्जिनमा समस्या देखिएपछि जहाजलाई फर्काएर ११ः१५ बजेतिर त्रिभुवन विमानस्थलमा सुरक्षित अवतरण गराइएको छ । उक्त जहाजको प्राविधिक परीक्षण भइरहेको छ ।
उक्त जहाज अवतरण गराउने क्रममा विमानस्थलमा केहीबेर अन्य उडान अवरुद्ध भएका थिए । विमानहरु आकाशमै होल्ड भएका थिए । जहाजलाई अवतरण गराउनुअघि त्रिभुवन विमानस्थलमा ‘इमर्जेन्सी’ घोषणा गरिएको थियो । जहाजमा ७२ जना यात्रु र ४ जना चालक दलका सदस्य थिए ।

























