झडपमा घाइते भएकाहरुविराटनगर । ताप्लेजुङको फुङलिङ नगरपालिका–११ पाथीभरा क्षेत्रमा प्रहरीसँगको झडपमा ३ जना गम्भीर घाइते भएपछि कोशी प्रदेशका प्रतिपक्षी दल नेकपा (माओवादी) केन्द्र र नेकपा (एकीकृत समाजवादी) पार्टीले केबलकार निर्माणको काम रोक्न माग गरेका छन् ।
कोशी प्रदेशसभाको आइतबारको बैठकमा विशेष समय लिएर बोल्दै दुई दलले तत्काल काम रोक्न माग गरेका हुन् । माओवादी केन्द्र प्रदेश संसदीय दलका नेता इन्द्रबहादुर आङ्बोले व्यापारीलाई रिझाउन जनतालाई गोली हान्न नमिल्ने बताए ।
‘व्यापारीलाई रिजाउनका निम्ती जनतालाई गोली चलाउने र जनता मार्ने काम सरकारबाट तुरुन्त बन्द होस्,’ उनले भने, ‘त्यो निर्माण कार्यलाई तत्काल रोकेर सुरक्षा फौजलाई फिर्ता बोलाएर शान्तिपूर्ण स्थितिको सृजना गर्नुपर्छ र वार्ता संवादमार्फत मात्रै बाँकी कामलाई अगाडि बढाउन ध्यानाकर्षण गराउँछु ।’ मुकुम्लुङ क्षेत्रलाई व्यापारिक प्रयोजनका लागि दिँदा स्थानीयको भावनामा धेरै ठूलो चोट परेको दाबी गर्दै उनले भने, ‘शान्तिपूर्ण विरोध गर्दा राज्य आतंक र दमन भएको छ ।’
एकीकृत समाजवादी पार्टीका सांसद कमलप्रसाद जबेगूले प्रहरी र सशस्त्र प्रहरीले आन्दोलनकारीले खाना खाएको समयमा आक्रमण गरेको दाबी गरे । उनले किराँत धार्मिकस्थल मुकुम्लुङ क्षेत्रमा प्राकृतिक अवस्थामै छाड्नु पर्ने बताए ।
व्यापारीको पछि लागेर राज्यले नागरिकमाथि आक्रमण गरेको जबेगूको आरोप छ । ‘हाम्रो पहिचानको धरोहरलाई नढालौँ, नभत्काउँ, संरक्षण गरौं, जस्तो अवस्थामा छ, त्यस्तै अवस्थामा रहोस् भन्ने चाहाना हो,’ उनले भने, ‘एउटा व्यापारीको पछि लागेर संघको सरकार पनि कुदिरहेको छ, प्रदेशको सरकार पनि कुदिरहेको छ ।’
उनले केबलकार भन्दा पनि पाथीभराको तल्लोफेदी काफ्लेपाटीसँग सडक कालोपत्रे गर्न माग गरे । स्थानीयसँग वार्ता गरेर विवाद टुंगो नलागेसम्म केबलकारको काम रोक्न उनले आग्रह गरे ।
प्रदेशसभा बैठकमा घटनाका विषयमा जानकारी दिँदै कोशी प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री रेवतीरमण भण्डारीले ताप्लेजुङको घटनामा दुई जनालाई प्रहरीले चलाएको गोली लागेको बताए । भागदौड हुँदा अर्का एक जना पनि घाइते भएको उनको भनाइ छ ।
घटनामा २१ जना प्रहरी घाइते रहेको र ७ जना प्रहरी अस्पतालमा उपचाररत रहेको जानकारी भण्डारीले दिए । तीन जनालाई थप उपचारका लागि काठमाडौं पठाइएको उनले बताए ।
भण्डारीका अनुसार शनिबार बेलुका ५ः५० मा आन्दोलनकारीले प्रहरीमाथि एक्कासि ढुंगामुढा गरेपछि प्रहरीले आत्मरक्षाका लागि प्रहरीले २० सेल अश्रुग्यास र १० राउण्ड हवाई फायर गरेको हो । ‘प्रहरीले आत्म सुरक्षाका लागि केही नगर्ने हो भने प्रहरीतर्फ ठूलो क्षति हुने परिस्थिति सृजना भइसकेपछि आत्मरक्षाका लागि हवाईफायर भयो,’ उनले भने ।
भण्डारीले समस्या समाधानका लागि प्रदेश सरकार वार्ता गर्न तयार रहेको बताए । उनले आन्दोलनरत पक्षलाई वर्तामा आउन आह्वान गरेका छन् । प्रदेशसभाको शून्य समयमा बोल्दै सांसद प्रदीपकुमार सुनुवार, शम्शेर राई, गोविन्द गिरी, सविना बजगाईं, विदुरकुमार लिङ्थेपले पाथीभरा क्षेत्रमा देखिएको विवाद समाधान गर्न माग गरेका छन् ।
व्यवसायी चन्द्र ढकालको समूहले ताप्लेजुङमा पाथीभरा जाने केबलकार निर्माण गरिरहेको छ । मंगलबारबाट केबलकारको काम सुरु गरेपछि पहिचान पक्षधरले आज (आइतबार)बाट थप आन्दोलनको तयारी गरेका थिए । ‘नो केबलकार समूह’ले आन्दोलनको तयारी गरेपछि शनिबार बेलुका रोक्नका लागि प्रहरी पुगेको थियो ।
सोही क्रममा दुई तर्फबीच झडप भयो । झडपमा प्रहरी चलाएको गोली लागेर तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू र पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सगुन लावती घाइते भएका थिए । लावतीको छाती र लिम्बूको तिघ्रामा गोली लागेको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा भागदौडमा लड्दा घाइते भएका छन् । घाइते तीनै जनालाई विराटनगरबाट नेपाली सेनाको स्काई ट्रकमार्फत उपचारका लागि आइतबार काठमाडौं लगिएको छ ।

























