प्रजातन्त्रको घाँटी ननिमोठ

मुलुकी खबर
मुलुकी खबर
clock२०८१ फाल्गुन ७, बुधबार ०७:३५

फागुन ७ गते अर्थात् आज प्रजातन्त्र दिवस । २००७ साल फागुन ७ को जनक्रान्तिको स्मरण आज गरिन्छ । अनि, प्रजातन्त्र दिवसको महत्त्वबारे ठाउँ–ठाउँमा दलका नेताले व्याख्या गर्छन् । तर, प्रजातन्त्र ल्याउन योगदान दिएका योद्धा र उनीहरूको सपनाका व्याख्यामा मात्रै यो दिवस वषौंदेखि केन्द्रीत छ । उतिबेलाको परिवर्तनले देखाएको बाटोमा हिँड्न भने कोही तयार देखिँदैनन् । त्यसैले त प्रजातन्त्रले निर्दिष्ट गरेको लक्ष्य हासिल हुन अझै सकेको छैन ।

२००७ सालको जनक्रान्तिले प्रजातन्त्रको स्थापना गरे पनि त्यसलगत्तै दलहरूमा जुन किसिमको बेमेल र अन्तरद्वन्द्व देखियो, त्यसैका कारण मुलुकले विकास र स्थायित्वको बाटो अझै समात्न सकेन । त्यसयता प्रजातन्त्र गुम्ने र पुनःस्थापित हुने क्रम चलिरह्यो । प्रजातन्त्र स्थापना भएको यति वर्ष बितिसक्दा पनि दलहरूले मुलुकलाई स्थायित्व र विकासको बाटोमा अघि बढाउन नसक्नु विडम्बनापूर्ण नै हो ।

नेपालमा प्रजातन्त्र पछिका ३ दशक निरंकुश पञ्चायती व्यवस्था लागू भएको थियो । बाँकी रहेका ५ दशकलाई मात्र गणना गर्दा पनि यो अवधिमा चाहिँ नेपालको प्रजातन्त्र हुनुपर्ने जति परिपक्व हुन सक्यो त ? चुरो कुरो अहिले पनि यही हो । यो अवधिमा प्रजातन्त्रप्रति जनास्था अझ बढाउनका लागि हुनसक्ने र हुनुपर्ने जति कुरा भए त ? विश्लेषण गर्नुपर्ने विषय यो नै हो ।

आफूलाई मन लागेको र फाइदा हुने काम गर्ने अनि त्यसलाई लोकतन्त्रको पगरी गुथाइदिने शासकको सनातनी चरित्र अझै उस्तै छ । राम्रा होइन गलत कामको अनुकरण गर्ने र तैँले गर्न हुने, मैले गर्न किन नहुने ? भन्ने खराब प्रणाली झन् झन् मौलाएको छ । आजकल प्रदेश र केन्द्रका सदनमा यस्तै दृश्य दैनिक देखिन्छ । राजनीतिमा यो छर्लंगै छ ।

पटक–पटक भएका संघर्षको परिणामस्वरूप २०४७ सालमा प्रजातन्त्रको पुनःस्थापना भयो । तर, आन्दोलनका सहयात्री दलहरूबीच लगत्तै सत्ताका लागि खिचातानी भए । सामान्य बहुमत ल्याएको सत्ता पक्षको व्यवहार सबै जितेजस्तो देखियो । प्रतिपक्षमा रहेका दलमा धैर्यता देखिएन । प्रतिपक्षी दलले विरोधको नाममा सदन र सडक सबैतिर संघर्ष चलाए । यसकै कारण सत्ता पक्ष र प्रमुख प्रतिपक्षी दलको सम्बन्ध तिक्ततापूर्ण बन्यो । यसले राजनीतिमा अस्थिरता मात्रै ल्याएन । नेताहरूमा देखिएको महत्त्वकांक्षाका कारण एउटै पार्टीभित्र अनेकौं गुट–उपगुटको जन्म भयो । बहुमतको संसद् विघटन गर्नेदेखि आफ्नै पार्टी नेतृत्वको सरकार गिराउनेसम्मका खेल भए ।

यसै समयमा संसदीय राजनीतिको विकृत अनुहार देखियो । प्रजातन्त्र भनेको संसदीय राजनीतिको विकृत अनुहार हो त ? भन्ने प्रश्न पनि उठिरहेको छ । दल र नेताको गलत व्यवहारले त्यस्तै प्रश्न उब्जिनु स्वभाविक पनि हो । पछिल्लो समय प्रजातन्त्रलाई नै कमजोर बनाउने दलीय गतिविधि भइरहेका छन् । यसले मुलुक र आमनागरिकलाई हानि गर्ने कुरामा दुईमत छैन ।

सभ्य, सुसंस्कृत र सम्मुन्नत राष्ट्र निर्माणमा जुट्न यीनिहरुलाई के ले छेक्यो ? जनताको त्याग र बलिदानीबाट प्राप्त भएको उपलब्धि गुम्ने खतरा पनि उत्तिकै छ । प्रजातन्त्रको घाँटी निमोठेर जनताको बलिदानीको अवमूल्यन गर्ने अधिकार कसैलाई छैन । त्यसले सबैले भन्न सक्नुपर्छ, ‘प्रजातन्त्रको घाँटी ननिमोठ । प्राप्त उपलब्धिको रक्षाका लागि सबै एकजुट हौं ।’ सबैले हातेमालो गरेर प्रजातन्त्रको सम्मान र प्रजातान्त्रिक संस्कृतिको सम्प्रवर्धन गर्नुपर्ने बेला आएको छ ।

हिंसात्मक आन्दोलनले मुलुकलाई द्वन्द्वको बाटोमा धकेलिदियो । त्यही सेरोफेरोमा दरबारको महत्त्वकांक्षा बढ्यो । प्रजातन्त्रको घाँटी निमोठियो । तर, शान्तिपूर्ण जनआन्दोलनबाट लोकतन्त्रदेखि गणतन्त्रसम्मको यात्रा तय भयो । जनताले अब त राम्रो दिन आउला भन्दै लामो श्वास फेरे । तर, पनि दलहरूमा भने मर्यादित राजनीतिक संस्कारको अभाव अझै छ । जनताको अवस्था उस्तै छ । बिहान बेलुकाको छाक टार्न झोला बोकेर विदेशिने नेपालीको लाइन छ । मुलुकमा धेरै तन्त्र आए । तर, नागरिकको अवस्था उस्तै छ । फेरिन सकेकै छैन ।

नागरिकले चुनेर पठाएका व्यक्तिले नागरिककै हितका लागि काम गर्छन् भन्ने मान्यता प्रजातन्त्रको आधारस्तम्भ हो । हाम्रोमा यो अवस्था कस्तो छ भन्ने कुराको थप व्याख्या आवश्यक पर्दैन । किनकि आमनागरिक स्वयं यसका भुक्तभोगी छँदैछौँ । नागरिकप्रति शासकहरू कति उत्तरदायी र जवाफदेही छन् ? विधिको शासन र पारदर्शीता कस्तो छ ? प्रणालीका नाममा नागरिकले भोग्नुपर्ने भुक्तमान कति छन् ? हामीले देखेभोगेकै कुरा हो । प्रणालीले काम गर्ने भनेर विश्वास गरिने प्रजातन्त्रको नाम लिएर यहाँ शासकको मनमौजी चलिरहेको छ ।

प्रजातन्त्र वा लोकतन्त्रका नाममा भइआएका यी र यस्ता धेरै व्यवहार र चरित्रले चुनावमात्र प्रजातन्त्रको मानक हुन नसक्ने रहेछ भन्ने पुष्टि भइसक्यो । जसरी हुन्छ चुनाव जितौँ भन्ने ध्याउन्न भएपछिका विकृति र भ्रष्टाचारले पनि यो व्यवस्था नै खराब हो भन्ने बुझाइरहेको छ । वर्षौंदेखि शासकको सनक नै प्रजातन्त्र हो रहेछ भनेर बुझ्ने अवस्था सिर्जना हुँदै आइरहेको छ । विडम्बना यो घट्ला भनेको झनै बढ्दो छ । त्यसैले अझै जनताले कान ठाडा र नजर गाडा बनाइराख्नु पर्छ ।

लोकतन्त्रमा नागरिक सर्वोच्च हुन्छन् भन्नुको मतलब उनीहरूको दायित्व चुनावमा भोट हालेर मात्र पुग्दैन । पहरेदारी र खबरदारी उत्तिकै आवश्यक हुन्छ । नागरिक चुप रहने वा शासकका गलत काममा पनि थपडी बजाएर हौस्याउने होइन । गलतलाई गलत भन्ने हिम्मत गर्नु र प्रश्न गर्नु अपरिहार्य छ । लोकतन्त्रमा विधि प्रधान हुन्छ, व्यक्ति होइन । त्यसैले विधि बलियो बनाउन गलत अभ्यासविरुद्ध बोल्नैपर्छ ।

नागरिकको मौनताले गलत काम गर्नेहरुलाई हौस्याइरहेकाले गलत गतिविधिप्रति मुख खोल्नैपर्छ । नेता, नेतृत्व र राजनीतिमा सुधार आउनुपर्छ । जनता सचेत नबने प्रजातन्त्ररुपी आकाशमा ग्रहण लाग्नेछ । दलहरूले प्रजातन्त्रको मर्म नभुलुन् । प्रजातान्त्रिक योद्धाहरूको सपना नभुलौं । मिलिभगत गरेर प्रजातन्त्रको घाँटी ननिमोठ । मुलुक र जनताका लागि जीवन उत्सर्ग गर्ने महान सहिदहरु अमर रहुन् । प्रजातन्त्र दिवसको सबै शुभकामना ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.