
झापा । आयोजक टोली भद्रपुर ब्लेजर्स ‘भद्रपुर झापा गोल्डकप अन्तर्राष्ट्रिय आमन्त्रण नकआउट फुटबल’ प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।
फाइनल पुगेसँगै आयोजक टोलीले ७ लाख रुपैयाँको पुरस्कार सुरक्षित पारेको छ ।
प्रतियोगिताअन्तर्गत मंगलबार भद्रपुरस्थित मेची रंगशालामा भएको खेलमा आयोजकले बंगलादेशको काउर्न बाजार प्रगति संघलाई टाइब्रेकरमा हराउँदै उपाधि नजिक पुगेको हो ।
९० मिनेटको खेल दुवै टोलीबाट १–१ गोलको बराबरी भएपछि टाइब्रेकरमा आयोजकले बंगलादेशलाई ४–३ गोल अन्तरले पराजित गर्यो ।
टाइब्रेकरमा आयोजकका सत्यम् शर्मा, दिवश उराउ, विदेशी खेलाडीहरू अरमान बिडोङ र अबयोमिले गोल गरे । कुलदीप कार्कीको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।
बंगलादेशका साइडोस्टोन, एस सिल्लाह र साहिदले गोल गरे । युसुफ एमबीको प्रहार क्रसबारमा र इब्राहिमको प्रहार गोलपोस्टमा लागेर बाहिरियो ।
घरेलु दर्शकको समर्थन पाएको आयोजकले २९ औं मिनेटमा अग्रता लिएको थियो । आयोजकका विदेशी खेलाडी अबयोमीले पेनाल्टी एरियाबाट गरेको प्रहार डिफेन्सबाट रिबाउन्स भएको बललाई सत्यम शर्माले कडा प्रहार गरी जाली चुमाए ।
पहिलो हाफमा १–० ले पछि परेको बंगलादेशले ६२ औं मिनेटमा खेल बराबरीमा ल्याए । काजी रहदको लङ थ्रो पासमा साकिलले हेडमार्फत दोस्रो बार च्याप्दै गोल गरे ।
२१ औं मिनेटमा आयोजकका कप्तान आशिष चापागाईंले गरेको कडा प्रहार क्रस बारमा लागेर फर्कियो । सोही बललाई अबयोमीले गरेको प्रहार आकाशियो । खेलको ७१ औं मिनेटमा भद्रपुरका मिलन राईले गरेको प्रहार बाहिरियो ।
खेलको प्लेयर अफ द म्याच भद्रपुरका गोलकिपर टेकेन्द्र थापाले नगद २१ हजार र ट्रफी पाए ।
पोस्टम्याच कन्फ्रेन्समा भद्रपुरका प्रशिक्षक सचिन्द्र धिमालले आजको खेल निक्कै संघर्षपू्र्ण रहेको बताए । पहिलो हाफमा अग्रता लिए पनि खेल अन्तिम समयमा बराबरीमा राेकिँदा टाइब्रेकरमा सफलता मिलेको उनको भनाइ छ । फाइनलमा केही रणनीति बनाएर यही टिम मैदान उत्रार्ने उनले बताए ।
त्यस्तै, बंगलादेशका प्रशिक्षक सोएल रहमानले आजको खेलमा दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेको बताए । खेल बराबरी भए पनि टाइब्रेकरमा चुक्दा हार ब्यहोर्नु परेको उनको भनाइ छ ।
प्रतियोगिताअन्तर्गत बुधबार अन्तिम सेमिफाइनल खेलमा झापा ११ एफसी र डागा युनाइटेड भुटानबीच हुने गोल्डकपका सचिव तीर्थराज ढकालले जानकारी दिए ।



















