
विराटनगर । प्रथम कोशी प्रदेश खेलकुद महोत्सवअन्तर्गत प्रदेशस्तरीय महिला फुटबल प्रतियोगिताको उपाधिका लागि झापा र पाँचथर भिड्ने भएका छन् ।
विराटनगरस्थित दिल्ली पब्लिक स्कुलमा शनिबार भएको सेमिफाइनल खेलमा झापाले भोजपुरलाई र पाँचथरले मोरङलाई पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन् ।
पहिलो सेमिफाइनलमा झापाले भोजपुरलाई २–१ गोलले पराजित गर्यो । झापाको जितमा ‘वुमन अफ दी म्याच’ पूर्णिमा राई एक्लैले २ गोल गरिन् । भोजपुरको तर्फबाट विनिता राईले सान्त्वना गोल फर्काइन् ।
त्यस्तै, दोस्रो सेमिफाइनलमा पाँचथरले मोरङलाई २–१ गोलले पराजित गर्यो । मोरङले दोस्रो हाफको दोस्रो मिनेटमा किरण लिम्बूको गोलबाट अग्रता लिएको थियो । तर, लगत्तै पाँचथरकी प्रतीमा लिम्बूले गोल फर्काउँदै खेललाई बराबारीमा ल्याइन् ।
खेलको ५० औं मिनेटमा प्रियंका लिम्बूले गरेको प्रहारले पोस्टको दिशा लिँदा पाँचथरको जित सुनिश्चित भयो । दोस्रो सेमिफाइनलको ‘वुमन अफ दी म्याच’ पाँचथरकी पुनम चेम्जोङ घोषित भइन् ।
झापा र पाँचथरबीच प्रतियोगिताको फाइनल खेल खेलकुद महोत्सवको अन्तिम दिन विराटनगरको सहिद रंगशालामा हुने कोशी प्रदेश खेलकुद विकास बोर्डका सदस्यसचिव कृष्ण बस्नेत (पर्शुराम)ले जानकारी दिए ।



















