
विराटनगर । विराटनगरको ऐतिहासिक विराट गोल्डकप फुटबल प्रतियोगिता आज (सोमबार)देखि सुरु हुँदैछ । गोल्डकप सहिद रंगशालामा हुने छ ।
उद्घाटन खेलमा आयोजक रिजालको मोरङ एफसी र भारतको साउथर्न समिति फुटबल क्बल कोलकाताबीच प्रतिस्पर्धा हुने छ । प्रतियोगितामा २ भारतीयसहित १० वटा टोलीको सहभागिता रहने छ ।
‘विराटनगरको साथ, फुटबलको विकास’ भन्ने नाराका साथ गर्न लागिएको प्रतियोगिताको सबै तयारी पूरा भएको विराट गोल्डकपका संयोजक नवीन रिजालले बताए । खेल हेर्नका लागि टिकटदर २ सय रूपैयाँ तोकिएको छ ।
एउटा टिकट काट्दा २ हजार रुपैयाँसम्मको फाइदा हुने दाबी रिजालको छ । उनका अनुसार गोल्डकप सम्पन्न गर्न १ करोड ३५ लाख रूपैयाँ खर्च हुने अनुमान छ । प्रतियोगिताको विजेता टिमलाई ११ लाख र उपविजेतालाई ५ लाख रूपैयाँ नगद पुरस्कार प्रदान गरिने छ ।
उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार रूपैयाँ पाउने छन् । पुरस्कारबापत दैनिक हुने खेलको उत्कृष्ट खेलाडीलाई ११ हजार र सर्वोकृष्ट खेलाडीलाई ५१ हजार प्रदान गरिने रिजालले बताए ।



















