
विराटनगर । आयोजक मोरङ रिजालको एफएले विराटनगरमा सोमबारदेखि सुरु भएको विराट गोल्डकप फुटबल प्रतियोगितामा विजयी सुरुवात गरेको छ ।
विराटनगरको सहिद रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले स्तब्ध बनाउँदै मोरङ विजयी भएको हो । आयोजक रिजालको मोरङ एफएलाई अभिषेक गुरुङले १० मिनेटमा अग्रता दिलाएका थिए ।
साउथन समिति कोलकाताले १३ मिनेटमा बराबरी गोल फर्कायो । कोलकाताका सुदीप्ता हाल्देनले फ्रिकिकमार्फत गोल गर्दै खेललाई बराबरीमा ल्याएका हुन् ।
खेलको ३४ मिनेटमा कोलकाताले अग्रता बनायो । कोलकाताका अनिमेषले हेडमार्फत गोल गर्दा खेल २–१ को अवस्थामा पुग्यो ।
पहिलो हाफको ४६ औं मिनेटमा पेनाल्टीलाई सदुपयोग गर्दै दोर्जे तामाङले गोल गरेपछि खेल २–२ को अवस्थामा पुगेको थियो । मध्यान्तरपछिको ८९ मिनेटमा मोरङका मौसम लिम्बूले गोल गर्दै टिमको जित निश्चित गरे ।
जितसँगै आयोजक मोरङ प्रतियोगिताको क्वार्टर फाइलनमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच मोरङका मौसम लिम्बू घोषित भए । मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बल एपीएफबीच प्रतिस्पर्धा हुने छ ।



















