
काठमाडौं । सहकारी ठगी प्रकरणमा नेपाली कांग्रेसकी सांसद माया राई पक्राउ परेको जानकारी प्रहरीले सभामुखलाई दिएको छ । जिल्ला प्रहरी परिसर काठमाडौंले शनिबार बेलुका सांसद राईलाई पक्राउ गरेको थियो । शनिबार नै नै संघीय संसद सचिवालयलाई पत्र पठाएर राईलाई हिरासतमा राखेको जानकारी दिएको हो ।
राईमाथि कालिमाटीस्थित स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारी संस्थाको रकम अपचलनमा मुद्दा चलाउन सिफारिस गरिएको थियो ।
सहकारी ठगी र संगठित अपराधको कसुरमा काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो ।
राई समेतका व्यक्तिले ६९० बचतकर्ताको १ अर्ब १९ करोड ३० लाख ९० हजार ४९३ रुपैयाँ हिनामिना गरेको आरोप छ । राई जनजाति कोटाबाट कांग्रेस समानुपातिक सांसद बनेकी हुन् ।


























