
जनकपुरधाम । घरायसी विवादमा जेठाजुले धारिलो हतियार प्रहार गरेर बुहारीको हत्या गरेका छन् ।
सर्लाहीको विष्णु गाउँपालिका–३ मधुवन गोठकी ३६ वर्षीया रेनुदेवी पासवानको हत्या भएको हो । सर्लाहीका प्रहरी प्रवक्ता डीएसपी सरोज राईका अनुसार रेनुमाथि जेठाजु ४० वर्षीय साहेब पासवानले आइतबार बिहान करिब १० बजेतिर धारिलो हतियार प्रहार गरेका थिए ।
हात, मुख र घाँटीमा गम्भीर चोट लागेर उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ । बुहारीको हत्यामा संलग्न साहेब घटनामा प्रयोग गरेको हतियारसहित पक्राउ परेका छन् ।
उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























