
विराटनगर । सुनसरीको बराहक्षेत्रको जंगलबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।
बराहक्षेत्र नगरपालिका–१ स्थित जंगलबाट आइतबार राति ८ः४० बजेतिर ३ सय ३० किलो गाँजा बरामद भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले जानकारी दिए । उनका अनुसार धरान उपमहानगरपालिका–१७ मा लागुऔषध गाँजा ओसारपसार भइरहेको सूचना प्रहरीलाई प्राप्त भएको थियो ।
विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय धरानबाट खटिएको टोलीले खोजतलास गर्ने क्रममा बराहक्षेत्र जंगलमा गाँजा फेला परेको हो । प्रहरीलाई देख्नसाथ ओसारपसारमा संलग्नहरु गाँजा फालेर फरार भएको डीएसपी खतिवडाले बताए ।
उनका अनुसार प्लाष्टिकका ११ वटा पोका बरामद भएको थियो । उक्त पोकाभित्र ३ सय ३० किलो गाँजा रहेको उनको भनाइ छ ।
बरामद भएको गाँजा इलाका प्रहरी कार्यालय धरानमा राखेर थप अनुसन्धान अघि बढाइएको छ । गाँजा ओसारपसारमा संलग्नको खोजी तीव्र पारिएको प्रहरीको भनाइ छ ।

























