कोशी प्रदेशमा अपराध : १ वर्षमा साढे ९ हजार मुद्दा दर्ता

मुलुकी खबर
मुलुकी खबर
clock२०८२ वैशाख २२, सोमबार १७:४२

विराटनगर । कोशी प्रदेशमा पछिल्लो १ वर्षको अवधिमा करिब साढे ९ हजार मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

१४ जिल्ला रहेको कोशीमा २०८१ वैशाखदेखि चैतसम्म ९ हजार ४ सय ६१ मुद्दा दर्ता भएका हुन् । यो संख्या अघिल्लो वर्षको तुलनामा ३ सय ३५ ले बढी हो । २०८० को वैशाखदेखि चैतसम्म ९ हजार १ सय २६ वटा मुद्दा प्रहरीमा दर्ता भएका थिए ।

Advertisement

२०८१ को वैशाखमा ८ सय ४१, जेठमा ९ सय ६२, असारमा ९ सय ६७, साउनमा ९ सय ६२, भदौमा ८ सय १७, असोजमा ६ सय १८, कात्तिकमा ८ सय ४६, मंसिरमा ७ सय २५, पुसमा ६ सय ३०, माघमा ६ सय ८३, फागुनमा ६ सय ६५ र चैतमा ७ सय ७२ मुद्दा दर्ता भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।

कार्यालयका अनुसार पछिल्लो १ वर्षको अवधिमा आत्महत्याका १ हजार २ सय ३, बैंकिङ कसुरका १ हजार ८९, लागुऔषधका १ हजार १ सय ५, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सुविधा र नैतिकताविरुद्धको कसुरका १ हजार ८ र भवितव्य ज्यान सम्बन्धी ७ सय ७२ वटा मुद्दा प्रहरीमा दर्ता भएका छन् ।

चोरीका ४ सय ३०, जबरजस्ती करणीका ३ सय ९०, सवारी ज्यान सम्बन्धी २ सय ९९, ठगी र अपराधिक विश्वासघातका १ सय ९८, ज्यान मार्ने उद्योगका १ सय ३०, बहुविवाहका १ सय ८ र कर्तव्य ज्यानका ९० वटा घटना दर्ता भएका छन् । त्योबाहेक अन्य विभिन्न अपराधिक घटनासँग सम्बन्धित मुद्दा प्रहरीमा दर्ता भएको छ ।

कोशी प्रदेशका निमित्त प्रहरी प्रमुख एसएसपी भीमबहादुर दाहालले लागुऔषधविरुद्ध प्रहरी निर्मम बनेको बताए । ‘लागुऔषध बरामद र त्यससँग सम्बन्धित व्यक्ति पक्राउको नतिजाले नै प्रहरी कडा रूपमा प्रस्तुत भएको प्रष्ट हुन्छ,’ उनले भने, ‘लागुऔषध कारोबारीलाई गोली हानेर भए पनि नियन्त्रणमा लिने प्रहरीको रणनीति छ ।’

प्रहरीले सोमबार मात्रै झापामा २ राउण्ड हवाई फायर गरेर २ सय ग्राम ब्राउन सुगर बरामद गरेको छ । लागुऔषधविरुद्ध विभिन्न जनचेतनामूलक अभियान सञ्चालन गर्नेदेखि दुव्र्यसनविरुद्ध आमा र फ्यान अभियान चलाइएको जानकारी दाहालले दिए । यो अभियानले निकट भविष्यमा सकारात्मक नतिजा दिने अपेक्षा गरिएको उनको भनाइ छ ।

‘लागुऔषधले परिवार र समाज तहसनहस बनाइसक्यो । नियन्त्रणमा लिन प्रहरीले व्यापक रूपमा काम गरिरहेको छ । यसले भविष्यमा सकारात्मक परिणाम दिने अपेक्षा छ,’ उनले भने । त्यस्तै प्रहरीले आत्महत्या न्यूनीकरण विशेष अभियान पनि चलाइरहेको छ । अभियानमार्फत आत्महत्याको दरलाई कम गर्न सफल भइएको एसएसपी दाहालले बताए ।

उनका अनुसार प्रहरीमा अपराध नियन्त्रण र अनुसन्धान गर्ने विशेषज्ञ टोली नै परिचालित रहेका कारण पछिल्लो समय संगठित अपराधका घटना हुन पाएका छैनन् । कुनै घटना भएमा प्रहरी सक्रियताका कारण तत्काल अनुसन्धानको दायरामा ल्याउन प्रहरी सफल भएको उनको भनाइ छ ।

‘समाजमा अपराध नै नभएका हैनन् । तर, ठूला र संगठित अपराध हुन पाएका छैनन् । कुनै अपराध भइहाले तत्काल नियन्त्रणमा लिन सकिएको छ । अपराध गरेर भारततिर भागेकालाई पनि पक्राउ गर्न प्रहरी सफल भएको छ । विदेशबाट आएर अपराध गर्नेलाई तत्काल नियन्त्रणमा लिएर कारबाहीको दायरामा ल्याइएको छ,’ दाहाल भन्छन् । उनका अनुसार पहिचान नभएका अपराधीलाई पनि पहिचान गरेर पक्राउ गर्दै अनुसन्धानको दायरामा ल्याउन प्रहरी सफल भइरहेको छ ।

दाहालले पछिल्लो समय कोशी प्रदेशमा पत्ता नलागेका अपराधिक घटना नरहेको जानकारी दिए । ‘सबैतिरको शान्ति सुरक्षाको अवस्था मजवुत बनाइएको छ । अधिकांश घटनामा प्रहरीले सफलता प्राप्त गरेको छ । अपराधमा संलग्नलाई पत्ता लाग्न सक्नु नै अनुसन्धानमा सफलता हो । अपराध अनुसन्धान र नियन्त्रणकै कोणबाट हेर्दा कोशी प्रदेश अब्बल देखिन्छ,’ उनी भन्छन् ।

अवैध चोरी निकासी, तस्करी, सीमा अपराध नियन्त्रणमा उल्लेख्य सफलता प्राप्त भएको उनको भनाइ छ । साथै उद्धारका काम समयमै हुने गरेको बताउँदै एसएसपी दाहालले उद्धारलाई थप प्रभावकारी बनाउन गृहकार्य भइरहेको जानकारी दिए ।

जनसंख्या वृद्धि, अपराधको नयाँ ‘ट्रेन्ड’, अपराध गर्ने फरकफरक तरिका र शैली, साइबर क्राइम आदिले गर्दा केही चुनौती भने थपिएको प्रहरीको बुझाइ छ । यद्यपि, कोशी प्रदेशमा पछिल्लो समय अधिकांश भवितव्य घटनाहरु छन् ।

प्राकृतिक प्रकोेप, दुर्घटनाजस्ता भवितव्य घटना, आत्महत्या, आवेश प्रेरित अपराध प्रहरीको नियन्त्रणमा नहुने दाहालले बताए । तर, यस्ता घटना न्यूनीकरणका लागि ‘प्रो एक्टिभ पुलिसिङ’को काम भइरहेको छ । ‘प्राय समाजमा हुने अपराध न्यूनीकरण र नियन्त्रण प्रहरीको एकल प्रयासले मात्रै सम्भव छैन । सरोकारवालाहरुको सामूहिक प्रयास आवश्यक छ,’ दाहालले भने ।

कतिपय अपराध बढ्नुमा सामाजिक संरचना कारक बनिदिने उनको भनाइ छ । यद्यपि, पछिल्लो समय पूर्वमा संगठित, ठूला र नियोजित हिसाबका अपराध नभएको उनले बताए । ‘भएका अपराधको पनि तत्काल सफलतापूर्वक अनुसन्धान गरिएको छ । अपराधमा संलग्नलाई कारबाहीको दायरामा ल्याइएको छ । अनुसन्धान नटुंगिएका पुराना घटना छैनन्,’ एसएसपी दाहाल भन्छन् ।

तपाइको प्रतिक्रिया
कार्की आयोगको प्रतिवेदन : निष्पक्षतामाथि प्रश्न, औचित्य अन्योलमा
मसुरोको विषयमा विवाद हुँदा महिलाको हत्या, छोरा घाइते
मोरङको बुढीगंगा गाउँपालिकाद्वारा बेरोजगार सूचीमा सूचीकृत हुन आह्वान
झापाबाट चलचित्र ‘पाँच पाण्डव’ को छायांकन सुरु
रवि लामिछाने विरुद्धको अभियोग संशोधन निर्णयमाथि सर्वोच्चमा निरन्तर सुनुवाइ
देशभर हावाहुरीको सम्भावना, सतर्क रहन मौसम विभागको आग्रह
खोटाङको दिखुवा खोला पुल निर्माणमा ढिलासुस्ती, ठेकेदारलाई चेतावनी
सुन र चाँदीको मूल्यमा सामान्य वृद्धि
संसदीय यात्राको तयारीमा रास्वपा : १८२ सांसदलाई आजदेखि विशेष प्रशिक्षण
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण
जर्मनीमा सुजनलाई दोहोरो स्वर्ण
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.