
विराटनगर ।घरेलु कामदारको रुपमा राखिएकी किशोरीलाई जबरजस्ती करणी गरेको आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएका विर्तामोड नगरपालिकाका पूर्वमेयर ध्रुवकुमार शिवाकोटी ५ महिनादेखि अस्पतालमा छन् ।
शिवाकाेटीले किशाेरीलाई आफ्नाे धर्म छाेरी भएकाे बताउँथे । शिवाकाेटीकाे घरबाट भागेकी किशाेरीलाई नेपाल भारत सीमा क्षेत्रबाट प्रहरीले उद्दार गरेपछि जबरजस्ती करणीकाे विषय बाहिर आएकाे थियाे ।
जबरजस्ती करणी मुद्दा दायर भएपछि मंसिर २४ गते पक्राउ परेका शिवाकोटी त्यसयता अस्पतालमै छन् ।
अदालतले पूर्पक्षका लागि कारागार चलानको आदेश दिएपनि स्वास्थ्यको कारण देखाउँदै उनी अस्पतालमै बसेका हुन् ।
जिल्ला अदालत, झापाले २०८१ पुस २२ गते सिवाकोटीलाई पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको थियो । तर, हिरासतमा बस्नु पर्ने समय अस्पतालमै बिताएका सिवाकोटी अदालतको आदेश पछि पनि कारागार जानु परेन् । उनी विर्तामोडस्थित बीएन्डसी मेडिकल कलेजको क्याबिनमा बसिरहेका छन् ।
राजनीतिक पहुँचका आधारमा उनले कारागारमा बस्नु परेकाे छैन ।
जिल्ला कारागार झापाका जेलर रेवन्त भट्टराई अदालतले स्वास्थ्यलाई कारण देखाउँदै उपचारको प्रबन्ध गर्न आदेश दिएकाले उपचारका लागि पठाइएको बताए ।

























