लागुऔषध ब्राउन सुगरसहित १२ जना पक्राउ

Share this
762shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ बैशाख २९, सोमबार १६:१८
सिन्धुलीमा ढुंगाको लोहोरो प्रहार गरी श्रीमतीको हत्या, श्रीमान् पक्राउ

विराटनगर । कोशीका विभिन्न जिल्लाबाट प्रहरीले लागुऔषधसहित १२ जनालाई पक्राउ गरेको छ । झापा, मोरङ, सुनसरी र भोजपुरको बिभिन्न स्थानहरुबाट लागुऔषध ब्राउन सुगरसहित उनीहरुलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

झापाको बुद्धशान्ति गाउँपालिका–३ बुधबारे बजारबाट इलाका प्रहरी कार्यालय बुधबारेको टोलीले स्थानीय ३३ वर्षीय उत्तम कार्कीलाई ३ ग्राम १ सय ५० मिलिग्राम ब्राउन सुगर सहित नियन्त्रणमा लिएको हो ।

यस्तै, अस्थायी प्रहरी पोष्ट बसपार्क झापाले रुपन्देहीको बुटवल नगरपालिका–३ की २५ वर्षीया निर्मला थापालाई ५ सय २० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको कोशी प्रदेश प्रहरी कार्यालयले जनाएको छ ।

यसैगरी, लागुऔषध नियन्त्रण ब्युरो विराटनगरले विराटनगर महानगरपालिका–१५ र १६ बाट धरान उपमहानगरपालिका–१२ का २९ वर्षीय वसन्त तामाङलाई ब्राउन सुगर २ ग्राम ८८ मिलिग्रामसहित पक्राउ गरेको छ ।

मोरङको सुन्दरहरैँचा नगरपालिका–३ का २० वर्षीय दिवश तामाङलाई १ ग्राम ७१ मिलिग्राम लागुऔषध ब्राउन सुगरसहित नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

उता, इलाका प्रहरी कार्यालय महेन्द्रनगरले सुनसरीको बराहक्षेत्र नगरपालिका–७ सोमबारेबाट सोही स्थानका २५ वर्षीय धिरज राईलाई २ ग्राम ३ सय ५० मिलिग्राम ब्राउन सुगर सहित पक्राउ गरेको छ ।

यसैगरी, लागुऔषधको कारोबार भइरहेको भन्ने गोप्य सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय भोजपुरबाट खटिएको टोलीले भोजपुर नगरपालिका–७ स्थित २४ वर्षीय सञ्जय राईको कोठाबाट ३ ग्राम ४ सय ७० मिलिग्राम लागूऔषध ब्राउन सुगर, गाँजा १८ ग्राम र नगद ७० हजार रुपैयाँ फेला पारेको छ ।

कारोबारमा संलग्न भोजपुरको भोजपुर नगरपालिका–७ का १९ वर्षीय मौसम राई, २० वर्षीय रेन्जी शेर्पा, २० वर्षीय संगीत राई, २० वर्षीय युकेश राई, १९ वर्षीय उचित राई, २९ वर्षीय दिपेश राईलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.