अवैध असुली गर्दै गरेको भिडियो क्लिपबाट लिइएको तस्बिर । तस्बिर सौजन्यः बिएनविराटनगर । सप्तरी जिल्ला अदालत परिसरमा खुलेआम अवैध रुपमा रकम असुली भइरहेको खुलेको छ । यस्तै एउटा घटनाका भिडियो क्लिप सार्वजनिक भएको छ ।
भिडियो क्लिपमा सप्तरी जिल्ला अदालत बार एसोसिएसनका पदाधिकारीले अवैध असुली गरिरहेको देख्न सकिन्छ । जिल्ला अदालतले वैशाख २४ गते लेखापढी व्यवसायीको प्रमाणपत्रका लागि आवेदन आह्वान गरेको थियो ।
आवेदकले १ सय १० रुपैयाँ दस्तुर तिर्नुपर्ने भनिएको थियो । तर बार एसोसिएसनकी कोषाध्यक्ष निलमकुमारी यादवले आवेदकसँग ५ हजार १ सय १० रुपैयाँ मागेको भिडियोमा देखिन्छ ।
बारको हलमा बसेर कोषाध्यक्ष यादवले रकम असुलेको पाइएको हो । उनले आवेदन गर्ने भए ५ हजार १ सय १० रुपैयाँ तिर्नुपर्ने बताएकी छन् । भिडियोमा उनले भनेकी छिन्, ‘चित्त बुझ्दै भन्ने जानु ।’ उनले त्यसो भन्दा मागेजति रकमको रसिद दिन समेत अस्वीकार गरेकी छन् ।
अदालतका स्रेस्तेदार कृष्णप्रसाद अधिकारीले त्यसको कानुनी दस्तुर १ सय १० रुपैयाँ मात्रै रहेको बताए । परीक्षा सञ्चालनदेखि उत्तरपुस्तिका जाँच गर्ने अनि प्रमाणपत्र दिनेसम्मका काम बारकै पदाधिकारीले गर्ने आफूले सुनेका उनले बताए ।
त्यति धेरै पैसा नउठाउनुपर्ने तर उठाएको भए गलत गरिएको भन्दै उनले त्यसलार्य सुधार गर्ने प्रतिक्रिया दिएका छन् ।
बार एसोसिएसनका अध्यक्ष कामेश्वर यादवले पैसा उठाइरहेको विषय स्वीकार गरे पनि कानुनले नदिॅने तर व्यावहारिक कुरा पनि हुन्छ भन्ने उनको प्रतिक्रिया छ ।’

























