
विराटनगर । जबरजस्ती करणी (बलात्कार) र जबरजस्ती चोरी मुद्दामा दोषी ठहर भएका अभियुक्त लामो समयपछि पाँचथरको फिदिमबाट पक्राउ परेका छन् ।
झापाको मेचीनगर नगरपालिका–११ का ३२ वर्षीय प्रदीप राई पक्राउ परेका हुन् । उनलाई जबरजस्ती करणी र चोरी मुद्दामा अदालतले १० वर्षअघि नै दोषी ठहर गरेको थियो ।
अदालतले दोषी ठहर गरेर १० वर्ष कैद तथा पीडितलाई १ लाख रूपैयाँ क्षतिपूर्ति भराउने फैसला सुनाए पनि राई पक्राउ परेका थिएनन् । झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रबहादुर खड्काका अनुसार अदालतले दोषी ठहर गरेको १० वर्षपछि राईलाई पाँचथरको फिदिमबाट गत शुक्रबार पक्राउ गरिएको हो ।
जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको टोलीले पक्राउ गरेर राईलाई झापा ल्याएको खड्काले बताए । उनलाई तत्कालीन पुनरावेदन अदालत (हालको उच्च अदालत विराटनगरको इलाम इजलास)ले २०७२ साल असार १६ गते दोषी ठहर गर्दै कैद र जरिवाना फैसला गरेको थियो ।
राईलाई १० वर्ष कैद र उनीबाट पीडितलाई १ लाख क्षतिपूर्ति भराउनुपर्ने फैसला अदालतले सुनाएको हो । पक्राउ गरेर बुझाएपछि राईलाई जिल्ला अदालत झापाले आइतबार कैद सजाय भुक्तानका लागि कारागार चलान गरेको जानकारी डीएसपी खड्काले दिए ।

























