
काठमाडौं । आकर्षक तलब पाउने रोजगारीमा लगाइदिन दक्षिण कोरिया पठाइदिन्छु भन्दै ठगी गरेको आरोपमा प्रहरीले १ जनालाई पक्राउ गरेको छ ।
काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिका–१६ पेप्सीकोला बस्ने सुनसरीको इनरुवा नगरपालिका–७ घर भएका ३२ वर्षीय रमेशकुमार यादवलाई मंगलबार प्रहरीले पक्राउ गरेको हो ।
उनले दक्षिण कोरिया पठाइदिन्छु भन्दै ३ जनाबाट २६ लाख ८० हजार रुपैयाँ लिएको जनाइएको छ । रकम लिएपछि सम्पर्कविहीन भएको भन्ने पीडितहरूको उजुरीको आधारमा उपत्यका अपराध अनुसन्धान कार्यालयबाट खटिएको प्रहरीले उनलाई पेप्सीकोलाबाट पक्राउ गरेको हो ।
आवश्यक अनुसन्धान तथा कारबाहीको लागि यादवलाई वैदेशिक रोजगार विभाग पठाइएको प्रहरीले जनाएको छ ।

























