
विराटनगर । सुनसरीबाट लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ परेका छन् । अदालतले दोषी ठहर गरेको ७ वर्षपछि प्रहरीले पक्राउ गरेको हो ।
बराहक्षेत्र नगरपालिका–६ घर भइ बराहक्षेत्र–२ बयरवनमा बस्दै आएका ४८ वर्षीय शम्भु मण्डललाई बिहीबार साँझ पक्राउ गरिएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार घर ठेगानाबाटै मण्डलाई पक्राउ गरिएको हो ।
लागुऔषध मुद्दामा उनलाई जिल्ला अदालत सुनसरीले २०७५ पुस २९ गते दोषी ठहर गर्दै २ वर्ष १० महिना १५ दिन कैद सजाय हुने फैसला सुनाएको थियो । अदालतले दोषी ठहर गरे सजाय भुक्तान नगरिकन मण्डल लामो समयदेखि फरार रहेका थिए ।
प्रहरीले उनलाई शुक्रबार अदालतमा बुझाउने तयारी गरेको छ । प्रहरीले पेस गरेपछि अदालतले कैद सजाय भुक्तानका लागि कारागार चलान गर्ने छ ।

























