धनकुटाबाट ८९० किलो गाँजा बरामद, नियन्त्रणमा लिने क्रममा प्रहरी घाइते

Share this
647shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १०, शनिबार १२:२८

विराटनगर । धनकुटबाट प्रहरीले शनिबार बिहानका राति ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । बोलेरो पिकअप गाडीमा लोड गरेर धनकुटाबाट मोरङतर्फ लैजाने तयारी गरिएको ८ सय ९० किलोग्राम गाँजा बरामद भएको हो ।

धनकुटा प्रहरीका प्रवक्ता डीएसपी ओमप्रकाश खनालका अनुसार २९ वटा बोरामा प्याक गरिएको अवस्थामा गाँजा बरामद भएको छ । गाँजा ओसारपसारमा संलग्न साँगुरीगढी गाउँपालिका–२ बूढीमोरङका १९ वर्षीय उल्लास लिम्बूलाई पक्राउ गरिएको जानकारी उनले दिए ।

लिम्बूलाई साँगुरीगढी–२ स्थित धनकुटा र मोरङको सीमा क्षेत्रबाट बिहानका राति १ बजेतिर पक्राउ गरिएको खनालले बताए । उनका अनुसार धनकुटाको बूढीमोरङबाट मोरङको केराबारीतर्फ गाँजा ओसारपसार भइरहेको विशेष सूचना आउनसाथ नियन्त्रणमा लिन असई विनोदकुमार राजवंशीको नेतृत्वमा टोली परिचालन गरिएको थियो ।

इलाका प्रहरी कार्यालय राजारानीबाट समेत इन्स्पेक्टर प्रमोद खड्का नेतृत्वको टोली परिचालित भयो । तर, थप मद्धतका लागि गएको टोली नपुग्दै प्र १–०२–००२ च ५२३८ नम्बरको बोलेरोका चालक धकेलेर प्रहरीलाई लडाउँदै फरार भएका छन् ।

ड्युटीमा रहेका प्रहरी जवान सञ्जयकुमार थारुलाई धकेलेर जंगलतर्फ भागेका चालक यो समाचार तयार पार्दासम्म फेला परेका छैनन् । डीएसपी खनालले भागेका चालकको पहिचान भइसकेको र धनकुटा तथा मोरङको प्रहरी टोलीले खोजी तीव्र पारेको जानकारी दिए ।

गाँजा नियन्त्रणमा लिने क्रममा प्रहरी जवान थारु घाइते भएका छन् । बोलेरो चालकले धकेलेर लडाउँदा उनको अनुहार र शरीरका विभिन्न भागमा चोट लागेको छ । थारुको डाँडाबजारस्थित स्थानीय क्लिनिकमा उपचार भइरहेको छ । उनी खतरामुक्त छन् ।

घटनास्थलबाट प्रहरीले ८ सय ९० किलो गाँजासहित गाँजा लोड गरिएको बोलेरो पिकअप गाडी र को २९ प ९६३५ नम्बरको मोटरसाइकल नियन्त्रणमा लिएर जिल्ला प्रहरी कार्याल्य धनकुटामा लगेको छ । ४ थान मोबाइलसमेत बरामद गरिएको डीएसपी खनालले बताए ।

पहाडी जिल्ला धनकुटामा गाँजा खेती व्यापक हुन्छ । विगतमा प्रहरीसँग ‘सेटिङ’ गरेर गाँजा खेती गर्ने गरिएको आरोप लाग्दै आएको थियो । तर, पछिल्लो समय धनकुटा प्रहरीले गाँजा नियन्त्रण विशेष अभियान नै चलाएको छ ।

धनकुटा प्रहरी प्रमुख एसपी शरतकुमार थापा क्षेत्रीले लागुऔषध गाँजा नियन्त्रणमा लिन विशेष टोली परिचालन गरेका छन् । प्रहरीले सबैतिर निगरानी बढाएर दैनिकजसो गाँजा बरामद गर्दै यसको ओसारपसार र कारोबारमा संलग्नलाई पक्राउ गरिरहेको छ । एसपी थापा क्षेत्रीले लागुऔषध नियन्त्रणमा कुनै सम्झौता नहुने स्पष्ट पारेका छन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.