
काठमाडौं । उच्च अदालत वीरगञ्ज इजलासको फैसलापछि नेपाली कांग्रेसका पूर्वसांसद मोहम्मद अफताब आलम कारागारबाट छुटेका छन् । न्यायाधीश खुसीप्रसाद थारू र अर्जुन महर्जनको इजलासले आलमलाई कर्तब्य ज्यान मुद्दामा बुधबार सफाइ दिएको थियो । लगतै उनी कारागारबाट छुटेका हुन् ।
आलमलाई जिल्ला अदालत रौतहटले दोषी ठहर गर्दै जन्मकैदको फैसला गरेको थियो । जिल्लाको उक्त फैसला उल्ट्याउँदै वीरगञ्ज इजलासले आलमलाई सफाइ दिएको हो । उनी ललितपुरस्थित नख्खु कारागारमा थिए ।
संविधान सभाको निर्वाचनको अघिल्लो राति २७ चैत २०६४ मा रौतहटको राजपुरस्थित इँटा भट्टामा पोलेर व्यक्ति हत्या गरेको आरोपमा उनी दोषी ठहर भएका थिए । घटनाको १२ वर्षपछि रौतहट प्रहरीले आलमलाई १९ असोज २०७६ मा पक्राउ गरेको थियो ।

























