कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार, विराटनगरबाट १ जना पक्राउ

Share this
684shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १५, बिहीबार १९:२४

विराटनगर । मलद्वारलगायत शरीरका विभिन्न भागमा राखेर र सवारीसाधनको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरिएको विषय नौलो हैन ।

तर, लागुऔषध ओसारपसारमा नयाँ उपाय अवलम्बन गरिएको घटना बाहिर आएको छ । प्रहरीलाई छल्नका लागि कुकुरको प्रयोग गरेर लागुऔषध ओसारपसार गर्ने गरिएको पत्ता लागेको हो ।

भारतको जोगवनीबाट कुकुरको प्रयोग गरेर लागुऔषध ल्याउँदै गर्दा मोरङको उर्लाबारी नगरपालिका–४ का २४ वर्षीय प्रशान भण्डारीलाई प्रहरीले बिहीबार साँझ ५ बजेतिर पक्राउ गरेको छ । विराटनगर महानगरपालिका–१६ हुलास चोकबाट कुकुरसहित भण्डारी पक्राउ परेका हुन् ।

इलाका प्रहरी कार्यालय रानी सीमाका प्रमुख एवं सई सुवास अधिकारीको नेतृत्वमा विराटनगरस्थित लागुऔषध नियन्त्रण ब्युरोसमेतको टोली नेपाल–भारत सीमा क्षेत्रनजिक आकस्मिक चेकजाँचमा खटिएको थियो । त्यस क्रममा १ जना युवक कुकुर डोर्याउँदै भारतको जोगवतीतिरबाट आउँदै थिए ।

उनको गतिविधि शंकास्पद लागेपछि नियन्त्रणमा लिएर प्रहरीले चेकजाँच गरेको थियो । तर, साथमा केही फेला परेन । सोधपुछ गर्ने क्रममा कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’ (पेटी)भित्र लुकाइछिपाइ ल्याएको अवस्थामा लागुऔषध फेला परेको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिए ।

उनका अनुसार मान्छेले बोक्दा प्रहरीले पत्ता लगाउने बुझेर भण्डारीले लागुऔषध ओसारपसार गर्न कुकुरको प्रयोग गरेको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । कुकुरको घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर ल्याएको लागुऔषधजस्तो देखिने वस्तु ब्राउन सुगर (खैरो हेरोइन) ३.३६ ग्राम र नाइट्राजेपाम ३५ ट्याब्लेट बरामद गरिएको जोशीको भनाइ छ ।

‘सीमा क्षेत्रमा आकस्मिक चेकजाँचमा खटिएको टोलीले कुकुरसहित भारततिरबाट आउँदै गरेको युवालाई चेकजाँच गरेको थियो । त्यस क्रममा कुकुरको घाँटीको ‘बेल्ट’भित्र लुकाएर ल्याएको लागुऔषधजस्तो देखिने वस्तु बरामद भयो,’ उनले भने । उनका अनुसार भण्डारी पक्राउ परेसँगै कारोबारी एवं सेवनकर्ताले लागुऔषध ओसारपसार गर्न नयाँ उपाय अवलम्बन गर्न थालेको पत्ता लागेको छ ।

‘प्रहरीको चेकजाँच छल्न कुकुरको प्रयोग गरेको पाइयो । तर, पनि ओसारपसारमा संलग्नलाई पक्राउ गर्न प्रहरी सफल भएको छ,’ डीएसपी जोशी भन्छन् । उनका अनुसार लागुऔषध बोक्न प्रयोग गरिएको कुकुर भण्डारीकै घरमा पालेको पाइएको छ ।

कुकुरको नाम उनले ‘रक्की’ राखेको प्रहरीले जनाएको छ । उर्लाबारीबाट कुकुरसहित गाडीमा विराटनगर आएर भण्डारी लागुऔषध खरिद गर्न जोगवनीतर्फ गएको प्रहरीले पत्ता लागेको छ ।

डीएसपी जोशीका अनुसार कुकुर डोर्याउँदै पैदल नै जोगवनी गएका उनले फर्कदा घाँटीमा बाँधेको ‘बेल्ट’भित्र लुकाएर लागुऔषध ल्याएको पाइएको हो । बरामद भएको लागुऔषध र कुकुरसहित नियन्त्रणमा लिएर उनलाई इलाका प्रहरी कार्यालय रानीको हिरासतमा राखिएको छ ।

उनीविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । यस विषयमा इलाका प्रहरी कार्यालय रानीका प्रमुख, इन्स्पेक्टर कविन राई नेतृत्वको टोलीले थप अनुसन्धान गरिरहेको छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.