बसमा यात्रा गरिरहेका २ जना भेडेटारबाट पक्राउ

Share this
689shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ १६, शुक्रबार १५:५३

विराटनगर । यात्रुवाहक बसमा यात्रा गरिरहेका २ जनालाई प्रहरीले शुक्रबार अपरान्ह धनकुटाको साँगुरीगढी गाउँपालिका–६ भेडेटार चोकबाट पक्राउ गरेको छ ।

इलाका प्रहरी कार्यालय भेडेटारका प्रमुख, सई रमेश प्रधान नेतृत्वको टोलीले सार्वजनिक सवारीसाधन चेकजाँचका क्रममा उनीहरुलाई पक्राउ गरेको हो । पक्राउ परेकाको साथबाट लागुऔषध गाँजा बरामद भएको धनकुटा प्रहरीका निमित्त सूचना अधिकारी एवं इन्स्पेक्टर ध्रुवनारायण श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार दुवै जनालाई १० मिनेटको अन्तरमा पक्राउ गरिएको हो । पक्राउ पर्नेमा साँगुरीगढी गाउँपालिका–१ का १९ वर्षीय कसुर लिम्बू र चौबिसे गाउँपालिका–४ का २१ वर्षीय विजय याक्खा राई रहेका छन् ।

लिम्बूलाई संखुवासभाबाट इटहरीतर्फ आउँदै गरेको को १ ख ३८४१ नम्बरको बस र याक्खालाई पाँचथरबाट झापाको दमकतिर जाँदै गरेको को १ ख ३८२९ नम्बरको बसबाट पक्राउ गरिएको जानकारी इन्स्पेक्टर श्रेष्ठले दिए । उनका अनुसार अपरान्ह १२ः२० बजेतिर पक्राउ परेका लिम्बूको साथमा रहेको झोलाबाट १ किलो २ सय ५० ग्राम र अपरान्ह १२ः३० बजेतिर पक्राउ परेका याक्खाको साथमा रहेको झोलाबाट २ किलो १ सय ३० ग्राम गाँजा बरामद भएको छ ।

बरामद भएको गाँजासहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय धनकुटामा लगिएको छ । उनीहरुविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

दुवै जनाले सार्वजनिक सवारीसाधनमा यात्रु बनेर चढ्ने र गाँजाको ओसारपसार गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट पत्ता लागेको छ । उनीहरुमाथि थप अनुसन्धान भइरहेको जानकारी इन्स्पेक्टर श्रेष्ठले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.