
विराटनगर । सोलुखुम्बुमा कुटपिट गरेर १ जनाको हत्या गरिएको छ । महाकुलुङ गाउँपालिका–२ का ४० वर्षीय प्रेमकुमार कुलुङ राईको हत्या भएको हो ।
सामान्य वादविवादका क्रममा महाकुलुङ–२ का २६ वर्षीय रघु कुलुङ राईले प्रेममाथि कुटपिट गरेको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । बाँसको भाटा र लाट्ठीले शरीरका विभिन्न भागमा कुटपिट गर्दा प्रेम घाइते भएका थिए ।
घटना जेठ १४ गतेको हो । कुटपिटबाट घाइते भएका प्रेमको उपचारका क्रममा महाकुलुङ आधारभूत अस्पताल बुङमा जेठ १६ गते मृत्यु भएको प्रहरीले जनाएको छ ।
घटनामा संलग्न रघुलाई प्रहरीले पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा चलाउने प्रहरीको तयारी छ ।

























