विराट टिचिङ हस्पिटलमा न्यूक्लियर मेडिसिन विभाग स्थापना

Share this
781shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेष्ठ १९, सोमबार १७:३६

विराटनगर । विराट मेडिकल कलेज टिचिङ हस्पिटलले पूर्वी नेपालमै पहिलोपटक न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको औपचारिक सुरुवात गरेको छ ।

सेवा सुरु गरेको अवसरमा आयोजित कार्यक्रममा सीएमसीका न्यूक्लियर मेडिसिन विभागप्रमुख डा. जीवन पौडेलले पूर्वी नेपालमा यस्तो अत्याधुनिक प्रविधियुक्त विभाग सुरु हुनु स्वास्थ्य क्षेत्रमा ठूलो फड्को भएको बताए । उनले विराट मेडिकल कलेज टिचिङ हस्पिटलले ल्याएको यो कदमले क्यान्सर जस्ता जटिल रोगहरूको निदान र उपचारमा नयाँयुगको सुरुवात गरेको जनाए ।

यसै क्रममा अस्पतालका वरिष्ठ क्यान्सर सर्जन डा. शिवराज शर्माले पेटभित्र फैलिने क्यान्सरको उपचारका लागि अत्यावश्यक प्रविधि ‘हाइपेक’ सेवा पनि पूर्वमै पहिलोपटक सञ्चालनमा ल्याइएको घोषणा गरे ।

रक्त तथा क्यान्सर रोग विशेषज्ञ डा. सुलभ सापकोटा र डा. अस्मिता रायमाझीले पनि विभागको सुरुवातसँगै क्यान्सर उपचार अझ सहज, भरपर्दो र सर्वसुलभ हुने विश्वास व्यक्त गरे ।


संस्थापक अध्यक्ष डा. ज्ञानेन्द्रमान सिंह कार्कीले विराट मेडिकल कलेज टिचिङ हस्पिटल स्थापना गर्दा सेवा, शिक्षा र सामाजिक परिवर्तनको केन्द्र बनाउने लक्ष्य राखेको स्मरण गर्दै भने, ‘न्यूक्लियर मेडिसिन तथा मोलिक्युलर इमेजिङ विभागको सुरुवातले त्यो परिकल्पना आज थप मजबुत बनेको छ।’

‘स्वास्थ्य सेवा नाफामुखी होइन, सेवामुखी हुनुपर्छ भन्ने मान्यतामा हामी अडिग छौं’ उनले भने, ‘गुणस्तरीय सेवा, दक्ष चिकित्सक र अत्याधुनिक प्रविधिको संयोजनमार्फत् हामी अस्पताललाई अझ सहज रूपमा आमनागरिकको पहुँचमा पुर्याउन चाहन्छौं । बिरामीहरू उपचारका लागि काठमाडौं वा विदेश जान नपरोस्, सबै सेवा विराटनगरमै सहज रूपमा उपलब्ध होस् ।’

अस्पतालका सीईओ डा. निकिता कार्कीले पनि स्वास्थ्य सेवा जनउत्तरदायी र सर्वसुलभ हुनुपर्छ भन्ने मान्यताका साथ अस्पताल सञ्चालन भइरहेको बताइन् ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×