मोरङ प्रहरीको हिरासतमा रहेका थुनुवाको मृत्यु

Share this
695shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २०, मंगलबार १३:१०

विराटनगर । जिल्ला प्रहरी कार्यालय मोरङको हिरासतमा रहेका १ जना थुनुवाको आज (मंगलबार) बिहान मृत्यु भएको छ ।

अभद्र व्यवहार मुद्दाको अनुसन्धानका क्रममा रहेका झापाको दमक नगरपालिका–१ का २८ वर्षीय पुण्यबहादुर श्रेष्ठको मृत्यु भएको जानकारी मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले दिए । उनका अनुसार श्रेष्ठको उपचारका क्रममा विराटनगरको कोशी अस्पतालमा मृत्यु भएको हो ।

प्रहरीले श्रेष्ठविरुद्ध अभद्र व्यवहार मुद्दा चलाउन जेठ १५ गते म्याद थप गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । त्यसयता उनी हिरासतमा थिए । एक्कासि ज्वरो आउने, पेट दुख्ने र श्वासप्रश्वासमा समस्या देखिएपछि बिहान ९ः२० बजेतिर उपचारका लागि अस्पताल लगिएको डीएसपी जोशीले बताए ।

उनका अनुसार श्रेष्ठको उपचारकै क्रममा ११ः३० बजेतिर मृत्यु भएको हो । हिरासतमै रहेका बेला बारम्बार बिरामी पर्ने गरेपछि यसअघि पनि प्रहरीले उनलाई उपचारका लागि अस्पताल भर्ना गरेको थियो ।

प्रहरीका अनुसार लागुऔषध सेवनकर्तासमेत रहेका श्रेष्ठ लामो समयदेखि परिवारको सम्पर्कमा नरहेको पत्ता लागेको छ । उनी अपराधिक पृष्ठभूमिका व्यक्ति रहेको डीएसपी जोशीले बताए ।

यसअघि श्रेष्ठविरुद्ध विभिन्न प्रहरी कार्यालयबाट ४ पटक मुद्दा चलिसकेको रेकर्ड प्रहरीसँग छ । सुनसरीको इलाका प्रहरी कार्यालय इटहरी, झापाको इलाका प्रहरी कार्यालय दमक, मोरङको इलाका प्रहरी कार्यालय पथरी र जिल्ला प्रहरी कार्यालय मोरङबाट उनीविरुद्ध यसअघि मुद्दा चलिसकेको जानकारी जोशीले दिए ।

उनका अनुसार यसअघि ३ पटक लागुऔषध ऐन र १ पटक अभद्र व्यवहारअन्तर्गतको मुद्दा चलेको रेकर्ड छ । ‘यसअघि ४ पटक मुद्दा चलिरहेको रहेछ । अहिले पाँचौं पटक मुद्दा चलाउन अनुसन्धान जारी रहेका बेला बिरामी परेर श्रेष्ठको मृत्यु भयो,’ जोशीले भने ।

पछिल्लो पटक विराटनगरमै साइकल चोरी गर्न खोजेपछि उनलाई प्रहरीले पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको थियो । साइकल चोरी गर्न खोजेको देखी साइकलका धनी पुग्दा हातपात र दुव्र्यवहार गरेको भनेर किटानी जाहेरी परेपछि पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको प्रहरीको भनाइ छ ।

शवलाई कोशी अस्पतालमै राखिएको छ । ‘शव अस्पतालमै छ । मृतकका आफन्तलाई खबर भइसकेको छ । उनीहरु आइसकेपछि थप प्रक्रिया अघि बढ्छ,’ डीएसपी जोशीले भने ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.