
काठमाडौं । अनलाइन सट्टेबाजी (जुवा) खेलाएको आरोपमा प्रहरीले काठमाडौँ र ललितपुरबाट १७ जनालाई पक्राउ गरेको छ । विभिन्न जिल्ला स्थायी घर भएका उनीहरुलाई फरक फरक स्थानबाट पक्राउ गरिएको हो । पक्राउ पर्नेमा भारतीय नागरिकसमेत छन् ।
काठमाडौंको धापासीबाट १५ जना र ललितपुरको सनराइज अपार्टमेन्टबाट २ जनालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसएसपी रमेश बस्नेतले जानकारी दिए ।
आरोपीहरूले आइपीएल खेलको सट्टेबाजी गराएको प्रहरीको भनाइ छ । पक्राउ पर्नेमा अछाम घर भएका २९ वर्षीय डायमन्ड कुँवर, २१ वर्षीय मनोज बोगटी, कञ्चनपुरका ३० वर्षीय राजेन्द्र बहादुर महता, कैलाली घर भएका २१ वर्षीय अरविन कुमार खड्का, दाङ घर भएका विष्णु कुमार राउत, डोटीका ठक्क कुँवर, तिलक खड्का, पूर्व नवलपरासीका जीत बहादुर महतो, डोटीका सुवास खड्का र अछामका विकाश थापा छन् ।
त्यस्तै, डोटी घर भएका २३ वर्षीय हर्क बहादुर खड्का, भारतीय नागरिकहरू ऋषभ राज, २६ वर्षीय दीपक कुमार सिंह, २५ वर्षीय अङ्कित कुमार सिंह, धिरज कुमार सिंह र मोहित कुमार सिंह छन् । रुपन्देही घर भएका २६ वर्षीय पूर्णबहादुर दर्लामी मगरलाई पनि प्रहरीले पक्राउ गरेको छ ।

























