मोरङको ग्रामथानबाट ३ सय ४७ किलो गाँजा बरामद, भारतीयसहित २ जना पक्राउ

Share this
760shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २१, बुधबार १६:१७

विराटनगर । मोरङको ग्रामथानबाट प्रहरीले बुधबार दिउँसो ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ ।

प्रहरीले ग्रामथान गाउँपालिका–७ कलाबन्जार चोकबाट ३ सय ४७ किलोग्राम १ सय १० ग्राम गाँजा बरामद गरेको हो । गाँजाको ओसारपसार र कारोबारमा संलग्न भारतीय नागरिकसहित २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा भारतको अररिया जिल्ला प्रर्वाहाका ३२ वर्षीय विकासकुमार साहु र मोरङको जहदा गाउँपालिका–५ का ३० वर्षीय राजेशकुमार कामत रहेका छन् । इलाका प्रहरी कार्यालय हरैँचाबाट खटिएको सई नीरबहादुर खड्का नेतृत्वको टोलीले दुवै जनालाई मंगलबार राति ११ः४५ बजेतिर नियन्त्रणमा लिएको हो ।

प्रहरीले पक्राउ गर्दा उनीहरु प्रदेश १–०४–००१ प ९८३५ नम्बरको मोटरसाइकलमा सवार थिए । प्रहरीका अनुसार कामत मोटरसाइकल चालक हुन् । मोटरसाइकल रोकेर बसिरहेको शंकास्पद अवस्थामा नियन्त्रणमा लिएर प्रहरीले सोधपुछ गर्दा उनीहरुले गाँजा लुकाएर राखेको पत्ता लागेको मोरङ प्रहरीका प्रवक्ता डीएसपी वेदप्रकाश जोशीले जानकारी दिए ।

उनका अनुसार प्रहरी नियन्त्रणमा रहेकाहरुको बयानका आधारमा बुधबार दिउँसो गाँजा बरामद गरिएको हो । कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरको प्रादेशिक अनुसन्धान समूहसहित इलाका प्रहरी कार्यालय बेलबारीका इन्स्पेक्टर कृष्णबहादुर खत्री र इलाका प्रहरी कार्यालय हरैँचाका सई नीरबहादुर खड्काको नेतृत्वमा पुगेको टोलीले दिउँसो २ः३० बजेतिर गाँजा बरामद गरेको थियो ।

डीएसपी जोशीका अनुसार साहु र कामतलाई नियन्त्रणमा लिइएको स्थानबाट करिब ३ सय मिटर उत्तरमा ‘ह्युम पाइप’मा लुकाएर राखिएको अवस्थामा गाँजा बरामद भएको हो । प्लाष्टिक र बोराका १२ वटा पोकामा ‘प्याक’ गरेर लुकाइएको अवस्थामा गाँजा फेला परेको उनले बताए ।

जोशीका अनुसार गाँजा बरामद गरेर तौल गर्दा ३ सय ४७ किलो १ सय १० ग्राम थियो । बरामद भएको गाँजा र नियन्त्रणमा लिइएको मोटरसाइकलसहित दुवै जनालाई इलाका प्रहरी कार्यालय बेलबारीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी उनले दिए । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ ।

गाँजा कहाँबाट ल्याइएको थियो र कहाँ लैजान खोजिएको हो भन्ने यकिन भइसकेको छैन । यद्यपि, पूर्वी पहाडी जिल्लामा उत्पादन भएको गाँजा भारततिर कटाउने योजनासहित ल्याइएको हुनसक्ने प्रहरीको प्रारम्भिक अनुमान छ ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.