
अछाम । आछामको मेल्लेख गाउँपालिका–२ डाँडाश्री पाटनबाट जंगली जनावरको छाला र भरुवा बन्दुकसहित २ जना पक्राउ परेका छन् ।
इलाका प्रहरी कार्यालय बगुडाठाँटी र प्रहरी चौकी मेल्लेखको संयुक्त टोलीले मेल्लेख–२ का ४९ वर्षीय लालबहादुर धामी र ६८ वर्षीय मनेबहादुर धामीलाई पक्राउ गरेको हो । अछाम प्रहरी प्रमुख डीएसपी ईश्वरीप्रसाद भण्डारीका अनुसार पक्राउ परेकामध्ये लालबहादुरको गोरु बाँध्ने गोठमा लुकाएर राखिएको अवस्थामा जंगली जनावरको छाला बरामद भएको छ ।
जंगली जनावर थारको ३ फिट ६ इन्च लामो छाला बरामद भएको उनले बताए । त्यस्तै, मनेबहादुरको गोरु बाँध्ने गोठबाट भरुवा बन्दुक बरामद भएको छ । १ नाल बन्दुक र त्यसमा प्रयोग हुने १ थान केप बरामद गरिएको डीएसपी भण्डारीले बताए ।
पक्राउ परेका दुवै जनामाथि प्रहरीले थप अनुसन्धान गरिरहेको छ । दुवै जनालाई प्रहरीले बिहीबार दिउँसो पक्राउ गरेर अनुसन्धानको दायरामा ल्याएको हो ।

























