सुनसरीबाट पक्राउ परे ९ जना : भारत गएका थिए, खैरो हेरोइन बोकेर फर्किए

Share this
717shares
मुलुकी खबर
मुलुकी खबर
clock२०८२ जेठ २४, शनिबार १०:१७

विराटनगर । सुनसरीबाट ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कोशी गाउँपालिका–१ लौकहीस्थित भन्सार कार्यालय अगाडिबाट उनीहरु पक्राउ परेका हुन् ।

भारत गएर पैदल तथा स्कुटरमा फर्किएकाहरुलाई लागुऔषध नियन्त्रण ब्युरो विराटनगर र इलाका प्रहरी कार्यालय लौकहीबाट खटिएको संयुक्त टोलीले शुक्रबार विभिन्न समसयमा पक्राउ गरेको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार शंकास्पद अवस्थामा रहेकाहरुलाई चेकजाँच र खानतलासी गर्दा साथबाट लागुऔषध ब्राउन सुगर (खैरो हेरोइन) बरामद भएको छ ।

पक्राउ पर्नेमध्ये इटहरी उपमहानगरपालिका–५ का ३३ वर्षीय अजय चौधरीको साथबाट २ ग्राम ४ सय ७० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ । कोशी गाउँपालिका–१ का १८ वर्षीय हिमालकुमार मण्डल र १८ वर्षीय करणकुमार मण्डल पक्राउ परे । पक्राउ पर्नेमध्ये हिमालको साथबाट लागुऔषध ब्राउन सुगर ३ ग्राम २ सय ४० मिलिग्राम बरामद भएको डीएसपी खतिवडाले बताए ।

त्यस्तै, कोशी–२ का २१ वर्षीय दयानन्दकुमार यादवको साथबाट १ ग्राम ४ सय मिलिग्राम र धरान उपमहानगरपालिका–१७ का २७ वर्षीय विवेक विश्वकर्माको साथबाट २ ग्राम १ सय ५० मिलिग्राम बरामद भएको छ । धरान–१७ का १८ वर्षीय संगम राई र उनले चलाएको स्कुटर पछाडि सवार धरान–१९ का सिमसन राई पक्राउ परेका छन् । संगको साथबाट २ ग्राम २ सय ३० मिलिग्राम ब्राउन सुगर बरामद भएको छ ।

यसैबीच, स्कुटरमा सवार बराहक्षेत्र नगरपालिका–७ का २२ वर्षीय कौशल कालिकोटेको साथबाट ६ ग्राम ५ सय ३० ग्राम तथा स्कुटरको पछाडि सवार याकुव राईको साथबाट ४ ग्राम ७ सय ९० मिलिग्राम ब्राउन सुगर बरामद भएको डीएसपी खतिवडाले बताए । उनका अनुसार पक्राउ परेकाहरुको साथबाट जम्मा २२ ग्राम ८ सय १० मिलिग्राम ब्राउन सुगर फेला पारिएको छ ।

पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने प्रहरीको तयारी छ । सबै जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखेर थप अनुसन्धान अघि बढाइएको जानकारी खतिवडाले दिए ।

तपाइको प्रतिक्रिया
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.