
विराटनगर । सरकारी छाप दस्तखत किर्ते मुद्दामा सुनसरी जिल्ला अदालतले दोषी ठहर गरेको १६ वर्षपछि १ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
बराहक्षेत्र नगरपालिका–१ भलायोटारका ३६ वर्षीय रोशन राई पक्राउ परेका हुन् । इलाका प्रहरी कार्यालय चतराबाट सई राजन खड्काको नेतृत्वमा खटिएको टोलीले राईलाई आफ्नौ घरबाट शनिबार पक्राउ गरेको हो ।
राईलाई सरकारी छाप दस्तखत किर्ते मुद्दामा अदालतले २०६६ साल फागुन १३ गते दोषी ठहर गर्दै १ वर्ष कैद र २ सय २५ रूपैयाँ जरिबाना हुने फैसला गरेको थियो । तर, उनी सजाय र जरिबाना भुक्तान नगरिकन फरार भएका थिए ।
फरार प्रतिवादीको खोजी गर्ने क्रममा राईलाई पक्राउ गर्न प्रहरी सफल भएको सुनसरी प्रहरीका प्रवक्ता डीएसपी योगराज खतिवडाले बताए । उनका अनुसार राईलाई अदालतमा बुझाउने तयारी छ ।
प्रहरीले पेस गरेपछि अदालतले उनलाई सजाय भुक्तानका लागि कारगार चलान गर्ने छ । डीएसपी खतिवडाले सुनसरीमा फरार प्रतिवादीको खोजी र पक्राउलाई व्यापक बनाइएको बताए ।

























