
विराटनगर । गर्मी सुरु भएसँगै विराटनगरका फलफूल पसलमा आँप प्रशस्तै देखिन थालेको छ । स्वदेशी उत्पादन यतिबेला बजारमा त्यति धेरै आइसकेको छैन । अधिकांश आँप भारतबाट आयातीत छन् ।
नेपालमा बिक्री हुने अधिकांश आँप भारतबाट आयात गरिन्छ । छिटो पकाउन त्यस्ता आँपमा अत्याधिक विषादी तथा रासायनिक पदार्थ प्रयोग हुने गरेको पाइने गरेको छ ।
‘कार्बाइड’ नामक पदार्थ हालेर छिटो पकाउने गरिएको पाइन्छ । यसैगरी, कीराबाट जोगाउन भन्दै ‘क्लोरोपायरिफस’ र ‘माधाथन’ जस्ता कीटनाशक प्रयोग गरेको पनि पटक पटक सार्वजनिक भइसकेको छ ।
त्यस्ता विषादी र केमिकल मानव स्वास्थ्यका लागि अत्यन्तै हानिकारक रहेको विज्ञहरुले बताउँदै आएका छन् । गत सुनसरीको इटहरीमा गरिएको बजार अनुगमनका क्रममा भारतबाट ल्याएको आँपमा कार्बाइड प्रयोग गरेको पाइएको थियो ।
इटहरी उपमहानगरपालिकाका प्रतिनिधि, नगर प्रहरी र प्राविधिक सहितको टोलीले बजार अनुगमन गर्दा त्यस्तो पाइएको हो । टोलीले विषादीयुक्त एक ट्रक आँप जफत गरी खाल्डोमा गाडेर नष्ट गरिएको इटहरी वेस्ट एन्ड इन्भारो मेनेजमेन्ट, फोहोर प्रशोधन केन्द्रका केशव पौडेलले मुलुकी खबरलाई जानकारी दिए ।
यसैगरी केही दिनअघि धनगढी उपमहानगरपालिकामा पनि त्यस्तै आँप भेटिएको थियो । उपमहानगरको टोलीले विषादी प्रयोग गरिएको २ हजार २७६ किलो आँप नष्ट गरेको थियो।
विराटनगर महानगरपालिकाले भने यहाँको बजारमा त्यस्ता विषालु र प्रतिबन्धित रसायनको प्रयोग नदेखिएको दाबी गरेको छ । महानगरका अनुसार पहिले जस्तै विषादी (क्याल्सियम कार्बाइड) प्रयोग गरेर आँप पकाइएको प्रमाण भेटिएको छैन ।
खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालयका प्रमुख पुष्पलाल राईका अनुसार अहिले आँप परिपक्व सिजनमा प्रवेश गरिसकेको छैन । उनले बजारमा देखिएको आँप कृत्रिम रूपमा पकाइएको भए पनि त्यसमा स्वास्थ्यलाई असर नपार्ने ‘एथिलिन ग्यास’ प्रयोग गरिएको जानकारी दिए ।
क्याल्सियम कार्बाइड प्रतिबन्धित र विषालु हुने उनको भनाइ छ । तर एथिलिन प्रयोग गर्दा स्वास्थ्यमा असर नपर्ने राईको दाबी छ । उनका अनुसार अहिले बजारमा ‘खानै नहुने’ खालको विषादीयुक्त आँप पाइएको छैन ।
एथिलिन पनि अत्याधिक प्रयोग गर्दा हानिकारक हुनसक्ने हुँदा सन्तुलित प्रयोग गर्न आवश्यक रहेको उनको भनाई छ । राईका अनुसार उपभोक्ताहरूको चेतनास्तर बढेसँगै विषादी प्रयोग गरिएको आँप बजारमा नदेखिएको हुन सक्छ ।
सामान्यतया नेपालमा उत्पादन हुने आँप असार पहिलो सातादेखि खानयोग्य हुन्छ । बजारमा भने अहिले नै पाकेका आँप प्रशस्त पाइन्छ ।
अर्ग्यानिक खेती र हरित अभियानका अगुवा दूर्जेय चेतना विषादीयुक्त फलफूल र तरकारीले मानव स्वास्थ्यमा गम्भीर असर पार्ने बताउँछन् । सम्भव भएसम्म घरमा प्रयोग गरिने यस्ता चिजबिज आफैंले उत्पादन गर्नुपर्नेमा उनी जोड दिन्छन् ।
राष्ट्रिय फलफूल विकास केन्द्रका अनुसार नेपालमा अगौटे जातको आँप पाक्ने स्वाभाविक समय अझै भइसकेको छैन । असार लागेपछि मात्र यो आँप बजारमा आइपुग्छ । कार्बाइड प्रयोग गरी पकाइएको आँप लगायत फलफूल खाँदा पेट दुख्ने, बान्ता हुने, पखाला लाग्नेजस्ता सामान्य समस्यादेखि फोक्सो, मुटु, मिर्गौलाको स्वास्थ्यमा समेत घातक असर पर्न सक्छ ।

























