
विराटनगर । झापामा तीन जना पुरुष मृत फेला परेका छन् । प्रहरीका अनुसार बिर्तामोड र अर्जुनधारा नगरपालिकाको छुट्टा छुट्टै स्थानमा तीन पुरुष मृत फेला परेका हुन् ।
मंगलबार झापाको बिर्तामोड नगरपालिका–२, फुलवारी टोलस्थित पासाङ शेर्पाको मकैबारीमा बिर्तामोड–२ आदर्श टोलका अन्दाजी ३६ वर्षीय राम टुडु मृत फेला परेका थिए । घोप्टो अवस्थामा फेला परेका टुडुको शवमा कुनै चोटपटक छैन । मृत्युको कारण खोजी भइरहेको प्रहरीले बताएको छ ।
बुधबार बिहान अर्जुनधारा नगरपालिका–४, मदनपुरस्थित जलाधर भित्री कच्ची सडकमा अन्दाजी ४५–५० वर्ष जस्तो देखिने पुरुष मृत फेला परेका छन् । मृतकको सनाखत भएको छैन ।
अर्जुनधारा नगरपालिका–११ नयाँबस्तीस्थित चियाबगानभित्र मंगलबार सोही स्थानका अन्दाजी ६० वर्षीय मित्रलाल कामी मृत फेला परेका हुन् । उनी लडेको अवस्थामा मृत फेला परेको प्रहरीले जनाएको छ ।
तीनवटै घटनाको विषयमा अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

























