
काठमाडौं । कैलालीमा लागुऔषधसहित प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयमा कार्यरत प्रहरी जवानसहित ६ जना छन्।
जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) राजकुमार सिंहले लागुऔषध खैरो हेरोइनसहित गोदावरी नगरपालिका–९ घर भएका प्रहरी जवान चिरञ्जीवी बिसीलाई पक्राउ गरिएको जानकारी दिए ।
उनको साथबाट ३८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ । यस्तै गोदावरी नगरपालिका–५ को गेटाबाट २० वर्षीय कमल रिजाललाई पनि पक्राउ गरिएको छ । उनको साथबाट पाँच ग्राम १८० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।
यस्तै, घोडाघोडी नगरपालिकाको सुखडबाट लागुऔषधसहित थप ५ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । मंगलबार राति करिब साढे १० बजेको समयमा विशेष सूचनाका आधारमा घोडाघोडी नगरपालिका–१ को सुखडबाट उनीहरुलाई पक्राउ गरिएको हो ।
पक्राउ पर्नेमा घोडाघोडी–१ लक्ष्मीपुरका २० वर्षीय उमेश नाथ योगी, १९ वर्षीय विनोद मिजार, १९ वर्षकै दिनेशबहादुर बिष्ट र दुई जना १८ वर्षीय किशोर छन् ।
उनीहरुको शरीर खानतलासी गर्दा २१ ग्राम ८२० मिलिग्राम लागुऔषध खैरो हेरोइन फेला परेको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुलाई नियन्त्रणमा राखेर थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

























