
विराटनगर । अभौतिक मुद्रा (क्रिप्टोकरेन्सी) को अवैध कारोबार, हुन्डी र अनलाइन गेमिङ खेलाएको आरोपमा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । कोशी प्रदेश प्रहरी कार्यालय, विराटनगर अन्तर्गतको प्रदेश इन्भेष्टिगेशन टिम (पीआइटी) ले उनीहरुलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार क्रिप्टोकरेन्सी, अनलाइन गेमिङ र अवैध हुन्डी कारोबारमा संलग्न रहेको आरोपमा सुनसरीको इटहरी–१२ खनारका २७ वर्षीय प्रभु नारायण चौधरी, इटहरी–११ का २७ वर्षीय प्रशिन चौधरीलाई पक्राउ गरिएको हो ।
यसैगरी, प्रहरीले इटहरी–७ का सुरज भनिने २२ वर्षीय सन्तोषकुमार साह इटहरी–११ का २६ वर्षीय चन्दन डोम, मोरङ सुन्दरहरैंचा–२ का २० वर्षीय निसान कुमार खवास, र इटहरी–१२ का ३२ वर्षीय लालबहादुर गौतमलाई प्रहरीले पक्राउ गरेको जनाएको छ ।
पीआटीले इटहरी उप(महानगरपालिका क्षेत्रमा तीन दिनसम्म सञ्चालन गरेको विशेष अपरेसनबाट उनीहरूलाई पक्राउ गरेको हो । पक्राउ परेकाहरूले डेढ करोडभन्दा बढीको अवैध कारोबार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
प्रहरीले प्रभुको साथबाट दुई थान र प्रशिनको साथबाट एक थान मोबाइल बरामद गरेको छ । पक्राउ परेका प्रभु र प्रशिन घरमै बसेर अवैध कारोबार गर्दै आएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको छ ।
उनीहरु अवैध कारोबारमा सक्रिय रहेको सूचना पाएको प्रहरीले निगरानी गर्दै आएको थियो । त्यसपछि नेपाल राष्ट्र बैङ्कबाट कुनै अनुमति नलिई विदेशी भौतिक क्रिप्टोको कारोबार गरेको प्रहरीले पत्ता लगाएको थियो ।
पक्राउ परेका सबै ६ जनालाई जेठ २७ गते इलाका प्रहरी कार्यालय इटहरीमा बुझाइएको छ । इटहरी प्रहरीले जिल्ला अदालत सुनसरीबाट ७ दिनको म्याद थप गरी अनुसन्धान अघि बढाएको प्रहरीले जनाएको छ ।

























