
विराटनगर । मूल्य अभिवृद्धि कर (भ्याट) छलीको आरोपमा विराटनगरका हार्डवेयर व्यवसायी कारागार चलान भएका छन् । ‘न्यू सौरभ ट्रेडिङ्ग र बियानी एण्ड ब्रदर्स हार्डवेयर एण्ड मार्वल’ का प्रोप्राइटर सौरभकुमार बियानी कारागार चलान भएका हुन् ।
आन्तरिक राजस्व कार्यालय विराटनगरले कर छली मुद्दामा उनीसँग १ अर्ब ३१ करोड ६४ लाख रुपैयाँ धरौटी माग गरेको थियो । धरौटी बुझाउन नसकेपछि असार १६ गते बियानी कारागार चलान भएका हुन् । उनीमाथि भ्याट छली र नक्कली बिल बनाएर ८२ करोड बढी करोबार गरेको आरोप छ ।
कर अधिकृत भवानी प्रसाद दाहालद्वारा हस्ताक्षरित पत्रअनुसार बियानीले मूल्य अभिवृद्धि कर ऐन, २०५२ अनुसारको कर छली गरेको ठहर भएको थियो ।
कार्यालयको दाबी अनुसार बियानीले कूल १ अर्ब ३१ करोड ६४ लाख ९८ हजार ५ सय ८४ रुपैयाँ बराबरको राजस्व छली गरेको देखिन्छ ।
राजस्व छलीको उक्त रकम बराबरको धरौटी नगद वा जेथा जमानी बुझाउन नसकेपछि कार्यालयले मूल्य अभिवृद्धि कर ऐन, २०५२ को दफा २३(घ)बमोजिम अर्को आदेश नभएसम्मका लागि बियानीलाई थुनामा पठाएको हो ।


























