कोशी प्रदेशमा अहिलेसम्मकै धेरै गाँजा बरामद

Share this
776shares
मुलुकी खबर
किशोर बुढाथोकी
clock२०८२ श्रावण ५, सोमबार १४:४४

विराटनगर । कोशी प्रदेशमा अहिलेसम्मकै धेरै गाँजा बरामद भएको छ । प्रहरीले १ वर्षको अवधिमा २६ हजार किलोग्रामभन्दा बढी गाँजा बरामद गरेको हो ।

नेपालको प्रचलित कानुनले गाँजालाई लागुऔषध मानेको छ । यसको उत्पादन, भण्डारण, बिक्री तथा ओसारपसार सबै गैरकानुनी मानिन्छ । यद्यपि, कोशी प्रदेशमा भने गाँजाको कारोबार निरन्तर बढ्दै गइरहेको तथ्यांकले देखाउँछ ।

गाँजाको कारोबार र ओसारपसारमा संलग्न पक्राउ पर्ने क्रम पनि बढेको छ । बरामद भएको गाँजाको परिमाण र पक्राउ परेकाको विवरणले कोशीमा गाँजाको ओसारपसार एवं कारोबार अत्यधिक हुने गरेको पुष्टि गर्छ ।

प्रहरीले आर्थिक वर्ष २०८१–०८२ मा २६ हजार ७ सय ५० किलोग्राम ५ सय ३८ ग्राम ९७ मिलिग्राम गाँजा बरामद गरेको छ । ३ वर्षअघिको तुलनामा यो परिमाण पाँचगुनाले बढी हो ।

प्रदेश प्रहरी कार्यालय विराटनगरका सूचना अधिकारी डीएसपी ध्रुवकुमार श्रेष्ठका अनुसार १ वर्षको अवधिमा गाँजाको ओसारपसार एवं कारोबारमा संलग्न २ सय ३५ जना पुरुष र २६ जना महिलालाई पक्राउ गरेर कारबाहीको दायरामा ल्याइएको छ । पक्राउ परेकाविरुद्ध लागुऔषध ऐनअन्तर्गतको मुद्दा चलाउने गरिएको छ ।

१ वर्षको अवधिमा गाँजाको ओसारपसारमा प्रयोग गरिएका ४५ वटा चारपांग्रे र ३२ वटा दुईपांग्रे सवारीसाधनसमेत प्रहरीले नियन्त्रणमा लिएको छ । प्रदेशका विभिन्न जिल्लामध्ये सबैभन्दा धेरै गाँजा सुनसरीबाट बरामद भएको डीएसपी श्रेष्ठले बताए ।

उनका अनुसार सुनसरीबाट १२ हजार ३ सय ७५ किलो ९ सय २९ ग्राम ८ सय ४० मिलिग्राम गाँजा बरामद भएको छ । त्यसपछि मोरङबाट ६ हजार ६ सय ५० किलो ४ सय ग्राम, धनकुटाबाट ४ हजार १ सय ९४ किलो, झापाबाट १ हजार ६ सय ५१ किलो २ सय ८२ ग्राम १ सय ८० मिलिग्राम र उदयपुरबाट १ हजार ८ सय १० किलो ४ सय ८४ ग्राम ७७ मिलिग्राम गाँजा बरामद भएको जानकारी श्रेष्ठले दिए ।

इलामबाट ८ सय १६ ग्राम, भोजपुरबाट १६ किलो ४४ ग्राम, संखुवासभाबाट ३ किलो १ सय ग्राम, खोटाङबाट १ किलो ९ सय ४२ ग्राम र तेह्रथुमबाट २ सय ४० ग्राम गाँजा बरामद भएको उनले बताए ।

बरामद परिमाण विगत २ आर्थिक वर्षको तुलनामा अत्यधिक धेरै हो । यसले पछिल्लो समय गाँजाको उत्पादन, ओसारपसार र कारोबार बढिरहेको पुष्टि गर्छ ।

आर्थिक वर्ष २०७९–०८० मा प्रहरीले ५ हजार ८ सय १५ किलो ४ सय ९३ ग्राम ७ सय मिलिग्राम गाँजा बरामद गरेको थियो । यसको ओसारपसार र कारोबारमा संलग्नमध्ये १ सय ३२ जना पुरुष र १२ जना महिला पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०८०–०८१ मा १० हजार ४ सय २० किलो ४९ ग्राम ४ सय ६१ मिलिग्राम बरामद भएको थियो । ओसारपसार र कारोबारमा संलग्न १ सय ९६ जना पुरुष र १३ जना महिला पक्राउ परेका थिए ।

आर्थिक वर्ष २०७९–०८० मा ५ हजार ८ किलो बढी गाँजा बरामद गरेको प्रहरीले आर्थिक वर्ष २०८१–०८२ सम्म आइपुग्दा २६ हजार ७ सय ५० किलो बढी बरामद गरेको छ । विशेष गरेर कोशी प्रदेशका धनकुटा, भोजपुर, उदयपुरलगायतका जिल्लामा गाँजाको उत्पादन हुन्छ ।

सबैभन्दा धेरै गाँजा धनकुटामा उत्पादन हुने गरेको छ । खेती नै लगाएर गाँजा उत्पादन गर्ने गरिएको हो । तर, पहाडी जिल्लामा उत्पादन हुने गाँजा तराईका जिल्लामा बढी बरामद भइरहेको छ । विभिन्न बाटोको प्रयोग गर्दै भारततिर निकासी गर्ने क्रममा प्रहरीले गाँजा बरामद गर्ने गरेको हो ।

एम्बुलेन्स, ट्यांकर, ट्रक, यात्रुवाहक बस, मोटरसाइकललगायतका विभिन्न सवारीसाधनको प्रयोग गरेर गाँजा ओसारपसार गर्ने गरिन्छ । गाँजाको मुख्य बजार भारत हो । नेपालमा प्रतिकिलो १० हजार रूपैयाँसम्ममा किनबेच हुने गाँजा भारत पुर्याएपछि दोब्बर बढी मूल्य पाइने गरेको प्रहरीको अनुसन्धानले देखाएको छ ।

अधिकारीहरु पछिल्लो समय गाँजा बढी मात्रामा बरामद हुनुले प्रहरीको कुशल नेतृत्वको परिणाम भएको बताउँछन् । तथ्यांकले पनि त्यसलाई पुष्टि गर्छ । विगतका वर्षमा यति धेरै परिमाणमा गाँजा बरामद भएको थिएन ।

‘जलमार्ग र स्थलमार्गको प्रयोग गरेर गाँजाको ओसारपसार हुन्छ,’ प्रदेश प्रहरी प्रमुख डीआईजी ईश्वर कार्की भन्छन्, ‘जसरी ओसारपसार गरे पनि प्रहरी सक्रियता बढाएर नियन्त्रणलाई प्राथमिकतामा राखिएको छ ।’ गाँजाको धन्दा बर्सेनि भइरहे पनि नियन्त्रणका लागि प्रहरीले कुनै कसर बाँकी नराखेको उनले बताए ।

‘प्रहरी सक्रियता बढाएपछि जोखिम मोलेर गाँजाको ओसारपसार हुन थालेको छ । तर, प्रहरी हस्तक्षेप बढाइएको छ,’ उनले भने । कोशी प्रदेशमा लागुऔषध नियन्त्रणप्रति संवेदनशील र सचेत रहेर प्रहरी परिचालनलाई प्रभावकारी बनाइएको कार्की बताउँछन् ।

प्रदेशमा लागुऔषधको समस्या गम्भीर रहेको उनको भनाइ छ । ‘गाँजा व्यक्तिगत प्रयोजनका लागि उत्पादन गर्ने बाली होइन । यो संगठित आपराधिक कारोबारमा रूपान्तरण भइसकेको छ,’ उनले भने, ‘गिरोहको सञ्जाल ध्वस्त पार्न रणनीतिक रूपमा प्रहरी अघि बढेको छ । तर, खेती हुँदै तस्करसम्मको जालो निकै बलियो छ ।’ उनका अनुसार गाँजाको खेती पहाडी जिल्लाहरुमा फैलिएको छ । ओसारपसारमा तराईका सिमावर्ती नाकाको प्रयोग हुन्छ ।

‘अब प्रहरी गाँजाको मूल स्रोतमा पुग्ने रणनीतिमा छ । खेतीमा संलग्नलाई समेत कारबाहीको दायरामा ल्याउने रणनीति बनाउँदैछौं,’ उनले भने । प्रहरीले बर्सेनि गाँजा फँडानी पनि गरिरहेको छ । तर, सबै ठाउँमा प्रहरी पुग्न नसक्दा गाँजाको उत्पादन र ओसारपसार बढ्दो छ ।

‘अनुसन्धानको दायरालाई अब सिमानाबाट गाँजा लैजाने तस्करसम्म मात्र सीमित राख्दैनौं । खेती गर्ने, संगठित रुपमा संकलन र बिक्री गर्ने मूल गिरोहको पहिचानमा लागेका छौं,’ डीआईजी कार्कीले भने । गाँजाको कारोबारमा संलग्न समूहले पैदलमार्ग, मोटरसाइकल, निजी कार र एम्बुलेन्सलगायतका विभिन्न सवारीसाधन प्रयोग गर्ने गरेको उनले बताए ।

कतिपय अवस्थामा सवारीसाधनभित्र विशेष च्याम्बर बनाएर लुकाउँदै गाँजाको ओसारपसार गर्ने गरिएको पाइन्छ । स्थलमार्गमा प्रहरीले कडाइ गर्न थालेपछि जलमार्गको समेत प्रयोग गरेर गाँजाको ओसारपसार गरिन्छ ।

कार्कीले प्रदेश प्रहरी पूर्ण सतर्क रहेको बताउँदै स्थानीय तह, समुदाय र सशस्त्र प्रहरी लगायतका निकायसँगको समन्वयमा गाँजालगायतका लागुऔषध नियन्त्रणलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिए । गाँजाको सञ्जाल भत्काउन र यसका कारण संकटपूर्ण अवस्था नआओस् भन्नका लागि प्रहरी अझ आक्रामक ढंगले प्रस्तुत हुने उनको भनाइ छ ।

तपाइको प्रतिक्रिया
रास्वपा सांसद खत्रीको अभिव्यक्तिप्रति पत्रकार महासंघको आपत्ति
९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ
नापी कार्यालयका सर्भेक्षकविरुद्ध अख्तियारद्वारा मुद्दा दायर
८०८ ग्राम खैरो हेरोइनसहित तीन भारतीय नागरिक पक्राउ
साढे दुई करोडभन्दा बढीको सुनका गहनासहित महिला पक्राउ
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
एन्फाका जोशी र पाण्डेको बन्दी प्रत्यक्षीकरण रिट खारेज
कोशीमा ५७७ वडामा कांग्रेस देउवा समूहको अधिवेशन
मोरङ-६ को अधिवेशनमा कुटपिटपछि कांग्रेसले फेर्यो संयोजक
माग सम्बोधन नभएपछि छात्रवृत्ति करारका चिकित्सक आन्दोलनमा
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
निजी क्षेत्रका लागि विद्युत् प्रसारण ग्रिड खुला
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
सीमा अपराध नियन्त्रणमा कडाइ गर्न सशस्त्र प्रहरी महानिरीक्षकको निर्देशन
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
दमकबाट नक्कली भारतीय नोटसहित दुई भारतीय नागरिक पक्राउ
© 2024 Muluki Khabar. All Rights Reserved. Design & Develop By: Indesign Media Pvt. Ltd.
Desktop Popup ImageMobile Popup Image×
Desktop Popup ImageMobile Popup Image×