
विराटनगर । कोशी प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालयले १ वर्षको अवधिमा ४ अर्ब १ करोड ४४ लाख रुपैयाँ बेरुजु फछ्यौट गरेको छ ।
मन्त्रालयमा शुक्रबार पत्रकार सम्मेलन गर्दै भौतिक पूर्वाधार विकासमन्त्री भूपेन्द्र राईले ४ अर्ब १ करोड ४४ लाख ३३ हजार ४ सय ७७ रुपैयाँ बेरुजु फछ्यौट गरिएको जानकारी दिए । मन्त्रालयमा कूल ५ अर्ब ९५ करोड ४९ लाख रुपैयाँ बेरुजुमध्ये ६७.४१ प्रतिशत बेरुजु फछ्यौट भएको हो ।
मन्त्रालयले असुल गर्नुपर्ने बेरुजु १० करोड ९८ लाख ७८ हजार ३ सय १६ रुपैयाँ, पेस्की बेरुजु ३ अर्ब ६ करोड १५ लाख ४० हजार १ सय २० रुपैयाँ र नियमित गर्नुपर्ने १ अर्ब १ करोड ९ लाख रुपैयाँ बेरुजु फछ्यौ६ गरेको छ । मन्त्री राईले सार्वजनिक गरेको तथ्यांक अनुसार गतवर्ष प्रदेश सरकारले ११३.८९ किलोमिटर सडक कालोपत्र गरेको छ ।
उनका अनुसार १७५.४९ किलोमिटर ग्राभेल भएको छ । १६.७१ किलोमिटर आरसीसी–पीसीसी ढलान र ४७.९६ किलोमिटर नयाँ ट्रयाक खुलेको छ ।
राईका अनुसार १ वर्षको अवधिमा प्रदेशले १८ वटा सडक पुल र १६ वटा झोलुंगे पुल निर्माण भएका छन् । ११ वटा बहुवर्षीय सडक आयोजनाको ११५.८९ किलोमिटर सडक थप निर्माण भएको छ ।
प्रदेश सरकारको स्रोतबाट २ सय ८४ विपन्न नागरिकको घर निर्माण भएको उनले बताए । संघीय सशर्त अनुदानबाट २ सय ५४ घर निर्माण भएका छन् ।
मन्त्रालयले गत वर्ष १३ वटा सरकारी भवन, ६९ वटा सामुदायिक भवन, ११ वटा सभा हल, ४० विद्यालयको पूर्वाधार, २५ धार्मिक पूर्वाधार, ११ कभर्ड हल र १० वटा खेल मैदान निर्माण गरेको छ ।
मन्त्री राईले चालु आर्थिक वर्षको सालबसाली तथा स्रोत सुनिश्चित भएका आयोजनाहरूको ठेक्का प्रक्रिया आर्थिक वर्षको पहिलो त्रैमासिकभित्रै सम्पन्न गरिने बताए ।

























