
काठमाडौं । नेकपा (एमाले)को जनसंगठन नेपाल खेलकुद महासंघले पार्टी अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वलाई अविभाज्य मान्दै एमालेमा ओलीको विकल्प नरहेको ठहर गरेको छ ।
महासंघको नवौं केन्द्रीय पदाधिकारी बैठकले ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकांक्षा साकार पार्न ओलीकै नेतृत्व अपरिहार्य रहेको निष्कर्ष निकालेको हो । मध्यबानेश्वरस्थित महासंघको केन्द्रीय कार्यालयमा बसेको बैठकले समकालीन राजनीतिक परिदृश्यमा एमालेबिना मुलुकको रुपान्तरण सम्भव नरहेको र एमाले अध्यक्ष ओली बिना पार्टीको राजनीतिक दिशा तय हुन नसक्ने ठहर गर्दै ओली नेतृत्वप्रति पूर्ण प्रतिबद्धता जनाएको छ ।
बैठकमा एमाले नवौं केन्द्रीय महाधिवेशनले जारी गरेको अन्तर पार्टी निर्देशन (अपानि)लाई तल्लो तहसम्म कार्यान्वयन गर्न संगठनात्मक सर्कुलर पठाउने निर्णय पनि भएको छ । महासंघ अध्यक्ष पर्शुराम बस्नेतको अध्यक्षतामा सम्पन्न बैठकले राष्ट्रिय खेलकुद नीति तथा विधि सम्बन्धमा स्पष्ट धारणा बनाउने उद्देश्यले उपाध्यक्ष धर्मकुमार श्रेष्ठको संयोजकत्वमा ३ सदस्यीय अध्ययन उपसमिति गठन गरेको छ ।
उपसमितिल्े राष्ट्रिय खेलकुद ऐनका विविध पक्षमा अध्ययन गरी महासंघको औपचारिक धारणा तयार गर्नेछ । महासंघको आगामी दोस्रो केन्द्रीय सचिवालय बैठक भदौ २२ गते र पाँचौं केन्द्रीय कमिटी बैठक भदौ १३ गते काठमाडौंमा नै हुने महासंघका कोषाध्यक्ष तथा प्रवक्ता उज्वल सुवेदीले बताए ।
सुवेदीका अनुसार महासंघको स्थापना दिवस मंसिर १४ गते विभिन्न घटक खेल संघहरू समन्वयमा बृहत् खेलकुद प्रतियोगिता आयोजना गरिनेछ । साथै, मातहतका सबै कमिटीलाई अनिवार्य रूपमा कम्तीमा १ खेलकुद प्रतियोगिता आयोजना गर्न निर्देशन दिइएको छ ।
बैठकपछि अध्यक्ष बस्नेत, महासंघ इञ्चार्ज जगन्नाथ थपलिया, एमाले बागमती प्रदेश अध्यक्ष कैलाश ढुंगेललगायतको ढुङ्गेललगायतको टोलीले एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीसँग भेट गरी बैठकका निर्णयहरू, भावी गतिविधि योजना र खेलकुद क्षेत्रको सरोकारबारे जानकारी गराएको थियो । महासंघको यस किसिमको ठहरलाई ओली नेतृत्वको सुदृढीकरण अभियानको हिस्सा मानिएको छ ।

























